‘डाइनोसर लोप नभएका भए पृथ्वीमा मानिस हुने थिएनन्’

त्यसबेला डाइनोसरसँग राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) भएका भए अहिले पृथ्वीमा मानिस हुने थिएनन् । यसको वैज्ञानिक कारण छ ।

पहिले यो तथ्य सरल भाषामा बुझौ–

मानिस कहिले र किन पृथ्वीमा आयौँ त ?

डाइनोसरहरू पृथ्वीमा करिब २३ करोड वर्षअघि देखा परेका थिए र झण्डै ६ करोड ६६ लाख वर्षअघि एउटा ठूलो प्रलय (विशाल उल्कापिण्ड खसेको घटना) का कारण लोप भए।

६ करोड ६६ लाख वर्षअघि, मेक्सिकोको युकाटन प्रायद्वीपमा आकाशबाट ठूलो उल्कापिण्ड खस्दा वातावरणमा धुलो र ग्यास फैलियो जस्ले गर्दा सूर्यको प्रकाश कम भयो । बोटबिरुवा मरे, जसका कारण डाइनोसरहरूको खानाको शृङ्खला भङ्ग भयो र डाइनोसरहरू लोप भए ।

डाइनोसरहरू लोप भएपछि पृथ्वीको वातावरणले स्तनधारीहरूको विकासलाई प्रोत्साहन गर्यो, जसबाट मानिसको उदय भयो र अहिले हामी पृथ्वीमा छौँ।

के अब यस्ता उल्कापिण्ड फेरि आउलान् त ?

तत्कालै त देखिँदैन तर नआउने भन्ने हुँदैन । तर आएर पृथ्वीसँग ठोक्कियो भने डाइनोसर जस्तै हामी मानिसहरू पनि लोप हुने छौँ ।

के वैज्ञानिकहरू यसमा सचेत छन् त ?

नासाले आकाशबाट पृथ्वीमा आउने सम्भावित खतरनाक उल्कापिण्डहरू (Asteroids) लाई रोक्न वा तिनको बाटो परिवर्तन गर्नका लागि प्रयास गरिरहेको छ । यसको एउटा उदाहरण भनेको डार्ट मिसन (Double Asteroid Redirection Test- DART) हो ।

यस मिसनमा नासाले २६ सेप्टेम्बर २०२२ मा पहिलो पटक एउटा सानो अन्तरिक्ष यानलाई जानाजानी एउटा उल्कापिण्डसँग ठोक्काएर उसको मार्ग (Orbit) परिवर्तन गर्यो । यो मिसनले प्रमाणित गर्यो कि हामीले उल्कापिण्ड पृथ्वीमा ठोक्किन आएमा त्यसलाई समयमै रोक्न सक्छौँ । मानव अस्तित्वका लागि यो महत्वपूर्ण प्रयोग थियो ।

त्यसैले त भनेको आफ्नो पृथ्वीतिर आएको उल्कापिण्डहरूको बाटो परिवर्तन गर्न सक्ने नासा डाइनोसरसँग भएका भए हामी अहिले हुने थिएनौँ अर्थात् मानिसको विकास हुने थिएन ।

जीवनको अर्को रोचक पक्ष

तपाईं हामी खरबौ खरब सम्भावनाका बीच जन्मिएका भाग्यमानी प्राणी हौँ । हामी मरेर गएपछि फेरि कहिलै जन्मने सम्भावना नै छैन तर हाम्रो शरीरका अंशहरू यस विशाल ब्रमाण्डको अभिन्न अंग भएर रहिरहने छ । छैन त रोचक ?

-लेखक एक वैज्ञानिक तथा हरित सहर अभियानका अगुवा सामाजिक अभियन्ता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *