एनआरटी पुग्यो झापा कपको फाइनल
झापा । न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
इलाम गोल्डकपको विजेता एनआरटीले फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।
टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गर्न सफल भए । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए भने विदेशी खेलाडी एलेक्सको प्रहार बारमा लागेर बाहिरिएको थियो ।
यसअघि खेलको ४२ औँ मिनेटमा एनआरटीका अञ्जन विष्टको प्रहार जागृतिका गोलरक्षक निरज चौधरीले बचाए । ७६ औँ मिनेटमा शिशिर लेखीले डिबक्सममा पाएको पासलाई फ्रेममा पार्न सकेनन् । ८३ औँ मिनेटमा नेमारको क्रसमा लेखीको हेडर गोलरक्षक चौधरीले पञ्च गरेर बचाए ।
जागृतिका लागि ५० औँ मिनेटमा खमिर गिल्सन कन्दङवाको कडा प्रहार एनआरटीका गोलरक्षक विशाल सुनारले पञ्च गरेर बचाए । ८२ औँ मिनेटमा योगेन्द्र कार्कीले २५ यार्ड टाढाबाट गरेको प्रहार फ्रेममा पर्न नसक्दा खेलको निर्णयको लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।
घम्साघमसीपूर्ण खेलमा रेफ्री प्रज्ज्वल क्षेत्रीले आठवटा पहेँलो कार्ड देखाएका थिए । जागृतिका चार र एनआरटीका चार खेलाडीले पहेँलो कार्ड पाएका हुन् ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एनआरटीका गोलरक्षक सुनार भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
