मलाई फर्मालिनमा राखियोस्

बचेरा हुर्काउन
गुँडबाट बाहिर निस्कँदै
कहिले पोथी बेँसी झर्छे
कहिले भाले शहर पस्छ
दिनरात र साँझबिहान नभनी
झरी र खडेरी नभनी
खेतबारी खोस्रिन
नङ्ग्रा खियाएरै
प्राण धानेरै
जीवन चलिरहेकै छ
र क्रमशः पखेटा लागिरहेछन् बचेराहरूका ।

अलिकति जो पखेटा लागेका मात्र हुँदा हुन्
सपनाको घर सजाउन
परदेशको माटोलाई मलजल गर्न
जन्मभूमिलाई धिक्कार्दै
पखेटा
फट्फटाउन सुरुआत गर्छन् बचेराहरू
रेखदेख गर्नुपर्ने बेलाका
बाबुआमालाई थाप्लोमा
ऋणको भारी बोकाएर
भुर्र उड्छन्
आँशु र कौतुहल बोकेर
पराई देशको बिरानो शहरमा ।

बेलाबखत सम्झनामा
जन्मघरको
आमाबाबुको ऋणले
थिचिएको थाप्लोको
बालापनको मृदु मुस्कानको
प्राकृतिक हावापानीको
फर्कौँ भन्दो हो त्यो मन पनि
छोडेर रमझम एकान्तको

कृत्रिम श्वासप्रश्वासको
तर मायावी संसारलाई बुझेन मनले
र वैभवलाई सफलता ठानेरै
दिनहुँ निस्कनै नसकिने भासमा
दलदल सरह जिन्दगी पासोमा
हालिरहेछन् बचेराहरू !

जसरी बाबुआमाले
झिसमिसे उज्यालोदेखि
आफ्नो खेतबारीमा पसिना बगाउँछन्
त्यसरी नै बचेराहरू साहुको लागि बन्धनमा
बिहान बेलुकै आफ्ना रुमानी सपना खातिर
जवानी र जीवन बिताउन बाध्य छन्

अचानक बाबुआमाको मृत्यु खबर पाउँदा
उनीहरूलाई छुट्टी छैन घर फर्कन
किनकी साहुलाई घाटा लाग्नेछ
अनि बाध्यतामा सन्देश पठाउँछन्
‘म फुर्सद मिलाएर केही दिनपछि आउनेछु,
बरफको बाकसमा हालेर राखिदिनु,
मलाई अनुहार हेर्न मन छ !

कृपया मेरा आफन्तजनहरू
त्यसरी मलाई
बरफको बाकसमा हैन
सिसाको पारदर्शी बाकसमा
फर्मालिनमा डुबाएर राखिदिनु
धेरै महिना वा वर्षसम्म रहने गरी
जब मेरा बचेराहरूलाई फुर्सद हुन्छ
तब मात्र आउन् डायस्पोराबाट
अन्तिम पटक मेरो अनुहार हेर्न
वा
उनीहरूलाई फुर्सद भएन भने
त्यही अवस्थाको मेरो फोटो पठाइदिनु खिचेर
अन्तिम पटक हेर्नको लागि
अनि दिऊन् त्यही फोटोमा
उनीहरूले भ्याउँदा मात्र
श्रद्धाञ्जली !!

-विराटनगर


प्रतिक्रिया

4 thoughts on “मलाई फर्मालिनमा राखियोस्

  1. अहामुटु छोयो, कति मीठो कविता

  2. नेपाली हरू को केही वर्षदेखि चलिआएको मार‍्मिक कटु यथार्थता।मन मुटु चसक्क हुने ।b

  3. समकालकाे हाम्राे सामाजिक विद्रूपताकाे सुन्दर र सजीव चित्रण

Leave a Reply

Your email address will not be published. Required fields are marked *