पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पहिलो पटक महिला नेतृत्व पाएको छ । शुक्रवार भएको मतदानमा देशभरका ९ हजारभन्दा धेरै पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका हुन् ।
केन्द्रीय निर्वाचन समितिले आइतबार राति सार्वजनिक गरेको मतपरिणामअनुसार शर्मा ४ हजार २८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
निकटतम प्रतिस्पर्धी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरे भने निकतम प्रतिस्पर्धी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे ।
उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरिन् भने प्रतिस्पर्धी गङ्गा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन् ।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरे । निकतम प्रतिस्पर्धी सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे ।
महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिष्पर्धी लेखनाथ न्यौपानेले एक हजार ९२९ मत प्राप्त गरे । कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भए।
