अन्तिममा सम्हालिन नसक्दा आयोजक रेड हर्षको हार
इलाम । इलाम गोल्डकपमा आज बुधबार भएको खेलमा आयोजक रेड हर्ष फुटबल क्लब चर्च ब्वाईजसँग पराजित भएको छ । बलियो टिमविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि ‘इन्जुरी समय’ मा सम्हालिन नसक्दा आयोजक पराजित भएको हो ।
इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा जारी दोस्रो संस्करणको इलाम गोल्डकपमा ९० मिनेट अत्यन्त प्रतिस्पर्धा भएको थियो । आयोजकका खेलाडी र विजेता टिमका खेलाडीले दर्शकको मन जित्ने गरी खेल कौशल प्रदर्शन गरेका थिए ।
अन्तिमतिर थपिएको ‘इन्जुरी’ समयमा समीर तामाङले गरेको एकमात्र गोलका कारण चर्च ब्वाईज फाइनल पुग्न सफल भयो । दुवै टिमले पटक पटक पाएको गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेनन् । आजको खेलमा म्यान अफ द म्याच चर्च ब्वाईजका गोलकर्ता समीर तामाङ घोषित भए ।
बिहिबार डिफेन्डिङ च्याम्पियन न्युरोड फुटबल क्लब र रेड स्टार झापाबीच अन्तिम सेमिफाइनल हुने आयोजकले जनाएको छ । मंसिर २९ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुनेछन् ।
