‘गिजर-हिटर प्रयोगमा ध्यान नदिए ज्यानै जान सक्छ’
काठमाडौँ । काठमाडौँकी एक २३ वर्षीय युवती ग्यास गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै थिइन् । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोडेर हेर्दा उनी बेहोसी अवस्थामा भेटिइन् । तुरुन्त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो ।
उपचारमा संलग्न अस्पतालका छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार उनलाई ‘हाइफ्लो अक्सिजन’ मा राखियो । दोस्रो दिन बल्ल राम्रोसँग होस आएपछि चार दिनपछि अस्पतालबाट घर पठाइयो । डा. बम भन्छन्, ‘बिरामी समयमै अस्पताल ल्याइएकाले राम्रो भयो । ढिलो गरेको भए बिरामीको मृत्यु पनि हुनसक्थ्यो ।’
जाडोयाममा पानी तताउन गिजरको प्रयोगबाट निस्सासिएर बेहोस भएको, झ्याल ढोका थुनेर कोइला बालेर सुत्दा मृत्यु भएको, आगलागीको घटनाजस्ता अप्रिय घटनाहरु बर्सेनि दोहोरिने गरेका छन् ।
शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, कोइला तथा हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गरिन्छ । यी सबैको प्रयोग गर्ने क्रममा सावधानी नअपनाउँदा मृत्युको मुखमा समेत पुग्नसक्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।
डा. बम भन्छन्, ‘जाडोमा मकल बाल्ने, हिटर बाल्ने, दाउरा बालेर कोठा र शरीर न्यानो बनाउने कुरा स्वाभाविक हुन् । न्यानो बनाउँदा भने झ्याल, ढोका र पर्दा सबै बन्द गर्नुहुन्न । भेन्टिलेसन खुला राख्नुपर्छ। बाथरुममा नुहाउँदा भेन्टिलेसन सधैँ खुला राख्नुपर्छ ताकि कार्बोन मोनोअक्साइड कोठाभित्र गुम्सेर नबसोस् र यसले पोइजनिङको अवस्था नल्याओस्।’
झ्याल र ढोका बन्दा हुँदा कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड विषालु ग्यास पनि उत्पन्न हुन्छ । डा. बमका अनुसार कोठाको झ्याल र ढोका बन्द गर्दा कार्बाेन मोनोअक्साइड अत्यधिक मात्रामा उत्पन्न गराइदिन्छ र कोठामा भएको अक्सिजनलाई प्रतिस्थापन गरिदिन्छ ।
‘कोठा गुम्सिएर कार्बाेन मोनोअक्साइड हाम्रो शरीरभित्र फोक्सोको माध्यमबाट श्वास नली हुँदै रगतमा प्रवेश गर्छ । हेमोग्लोबिनसँग मिलेर बनेको अक्सिजनलाई प्रतिस्थापन गरेर कार्बाेन मोनोअक्साइड हेमोग्लोबिनसँग बाँधिएर बस्छ । त्यो रगत प्रवाह भएर मष्तिष्कसम्म पुग्छ र कार्बाेन मोनोअक्साइड पोइजनिङ हुन्छ’, उनी भन्छन् ।
कार्बाेन मोनोअक्साइड पोइजनिङ हुँदा रिँगटा लाग्ने, चक्कर आउने, बान्ता हुने, आँखा तिरमिराउने जस्ता लक्षणहरु देखिन सक्छन् । अर्धचेत अवस्थामा यी लक्षणहरुलाई अनुभव गर्न नपाइ बेहोसी अवस्थामा बिरामीहरु भेटिने र समयमा उद्धार नगरिएको खण्डमा कतिपयको मृत्यु नै हुने चिकित्सक बताउँछन् । लामो समय बेहोसी अवस्थामा हुँदा दिमाग सुन्निने, मुटुको चाल बन्द हुने गर्दछ ।
विज्ञका अनुसार जाडो महिनामा विद्युतीय हिटर र ‘ब्लोअर’ ले सुक्खा हावा फाल्ने हुँदा लामो समयसम्म यसको प्रयोग गर्नुहुन्न । लामो समयसम्म कोठामा हिटर ताप्दा त्यसले घाँटी तथा नाक सुक्खा हुने, घाँटी खसखस हुने खालका लक्षण देखिनसक्छ किनकी प्राकृतिक हावामा आद्रता हुन्छ । जुन हिटर बाल्दा पाइँदैन । विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई यसको बढी जोखिम हुने भएकाले सजग रहनुपर्ने विज्ञको भनाइ छ ।
चिकित्सकहरु ग्यास, गिजर, हिटर र आगो ताप्दा जहिल्यै पनि हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र प्रयोग गर्न सुझाव दिन्छन् । साथै आगो तापिसकेपछि पूर्ण रुपमा निभेको छ कि छैन यकिन गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा छिटो जल्ने चिज जस्तै कागज, कपडा नजिकै राखेर नताप्ने, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरेर प्रयोग गर्नुपर्ने विज्ञको सुझाव छ । (रासस)
