‘सराब’ विमर्शसँगै गजल वाचन

सुनसरी । गजलकार कृष्ण काश्यपको गजल सङ्ग्रह ‘सराब’ माथि विमर्श गरिएको छ । कार्यक्रममा स्रष्टाहरुले गजल वाचन पनि गरेका थिए ।

क्यानभास साहित्य समाजको आयोजना तथा सङ्गीत साधना प्रतिष्ठान नेपालको सहकार्यमा शनिबार कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि गजलकार तथा कवि टीका आत्रेय र सुरेश सुवेदीले टिप्पणी राखेका थिए ।आत्रेयले गजललाई शील्पमा ढाल्ने काम गरिनु सबल पक्ष रहेको बताइन् ।

‘विषय विविधताका दृष्टिकोणमा कलात्मक गजल छन्,’ आत्रेयले भनिन्, ‘गजल लेख्दा पनि अनुभूति हुनुपर्दोरहेछ । यो सङ्ग्रहमा पनि अनुभूतिसहित लेखिएको छ ।’

अर्का वक्ता सुवेदीले गजल सिद्धान्तभित्र रहेर लेखिनुपर्ने भएकाले पनि यसमा थुप्रै विवाद रहेको बताए । ‘ती विवादतिर नजाऔँ, तर हामी क्रमशः सुधारिनुपर्छ,’ उनले भने, ‘गजल संरचनाको विधा चैँ हो ।’ उनले काश्यपका गजल सङ्ग्रहभित्र लयात्मक गजल रहेको बताए ।

‘हामी बच्चादेखि नै लयसँग खेल्दै आएका हौँ । हामीलाई आमाले सुत् भन्नुभएन, गीत गाएरै सुताउनुभयो,’ सुवेदीले भने, ‘खाना खाँदा होस् वा फकाउँदा आमाले लयमै गीत गाउनुभयो । हामी सङ्गीतमा खाना खाएर आएका हौँ, त्यसैले अवचेतन मनमा कहीँ न कहीँ लय आउँछ ।’

गजलकार काश्यपले भने आफ्नो उक्त पुस्तक दोस्रो कृति रहेकाले जुनसुकै प्रतिक्रिया पनि स्वीकार्य रहेको बताए । आफ्नो लागि ध्यान गर्नु र गजल लेख्नु उस्तै रहेको उनले बताए ।

काश्यपले भने, ‘विगतमा हामीले वैचारिक आन्दोलन नै जस्तो गरेर आएका हौँ । गजल किन र के का लागि लेखेँ भन्दा पनि महत्वपूर्ण कुरा त गजल लेख्नु नै मेरो लागि उपलब्धि हो ।’

कवि बद्री भिखारीको सभाध्यक्षमा भएको कार्यक्रमको दोस्रो चरणमा गजल वाचन राखिएको थियो । गजलकारद्धय राज भट्टराई र बबिता भुजेलले चार–चार वटा गजल वाचन गरे । सुनसरीको इनरुवा निवासी भट्टराई र खोटाङ घर भई मोरङको बूढीगंगा बस्दै आएकी भुजेलले गजल वाचन गरेका हुन् ।

कार्यक्रममा वक्ता र गजलकारहरूलाई कवि भिखारीसहित देवान किराती, सुदीप पाख्रिन र सुविद गुरागाईँले मायाको चिनो प्रदान गरेका थिए ।

सुमन रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लासहित मधेस प्रदेशका सर्लाही र बागमती प्रदेशको चितवनबाटसमेत स्रष्टाहरू सहभागी भएको संस्थाका अध्यक्ष भरत दाहालले बताए ।

क्यानभास साहित्य समाजले १० वर्षयता विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको सचिव विवेक विवश रेग्मीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *