पञ्चबर्षीय गढीमाई मेलाको रमझम
बारा । महागढीमाई नगरपालिका–१ बरियारपुरमा पञ्चबर्षीय गढीमाई मेला लागेको छ । करिब एक महिनासम्म लाग्ने पञ्चबर्षीय गढीमाई मेलामा नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरु आइरहेका छन् ।
गढीमाई प्रतिको श्रद्धा भाव र मागेको कुरा पुरा हुने विश्वासले यहाँ भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । श्रद्धालुहरु पाँच वर्षपछि फेरि उपस्थित भई भाकल पूरा भएको खुसियालीमा पशु बलि दिने गर्छन् ।
शनिबार मध्यरातमा विशेष पूजापश्चात् आइतबार बिहान पञ्चबली र त्यसपछि राँगा बली सुरु हुने महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ ।
आइतबार सूर्योदय हुनु अघि नै विशेष पूजा हुनेछ भने त्यसपछि पञ्चबलि दिइने र राँगा बली सुरु हुनेछ । तान्त्रिक विधिबाट पुजारीले गढीमाईलाई पञ्चबलि दिएपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा रहेको गढीमाईका मूल पुजारी मङ्गल चौधरीले बताए । उनका अनुसार सोमबार भने बोका बली दिइने छ ।
दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको समितिका अध्यक्ष एंव महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले बताए ।
यो मेला विश्वमा सबैभन्दा बढी बलि दिइने धार्मिक स्थलका रुपमा परिचित छ । उक्त मेलामा डेढदेखि दुई करोड भक्तजनहरु आउने अनुमान गरिएको छ ।
