कहिले बनिसक्छ हुलाकी राजमार्ग ?

विराटनगर । तराई मधेशका जिल्ला सदरमुकामलाई पूर्वपश्चिम जोड्ने उद्देश्यले बनाउन सुरु गरिएको हुलाकी राजमार्ग अझैसम्म पूरा हुन सकेको छैन ।

डेढ दशकअघि बनाउन थालिएको राजमार्गको प्रगति करिब ६७ प्रतिशत मात्र बाँकी छ । झापाको केचनाकवलदेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भूभागलाई जोड्न उक्त राजमार्गको अवधारणा ल्याइएको थियो ।

यो राजमार्ग बनेपछि तराई मधेशका २१ जिल्लाका करिब एक करोड जनता लाभान्वित हुने बताइएको थियो । राजमार्गको कुल दूरी १८५७.४२ किलोमिटर हो । अहिलेसम्म १२५४.६८ किलोमिटर सडक मात्र कालोपत्र गरिएको छ ।

सडक निर्माणको काम आर्थिक वर्ष ०७९/८० भित्र सक्ने भनिएको थियो । पछि ०८०/८१ सम्म समय थपियो । त्यो अवधिमा पनि काम नसकिएपछि ०८३/८४ सम्मका लागि समय थपको प्रस्ताव गरिएको छ ।

आयोजना सुरु हुँदा प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो । पछि संशोधन गरेर ६५ अर्ब २० करोड पुर्याइयो । अहिले यसको लागत बढेर १ खर्ब १ अर्ब ९३ करोड रुपैयाँ बनाइँदै छ । हालसम्म ६६ अर्ब १० करोड ३३ लाख रुपैयाँ खर्च भइसकेको छ ।

हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुवेर नेपालीका अनुसार सुरु रेखांकनअनुसार निकुञ्जबाट सडक निर्माण गर्ने उल्लेख भए पनि त्यसअनुसार काम नहुँदा ढिलाइ भएको हो ।

चालु आर्थिक वर्षका लागि हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । बजेट पर्याप्त नहुँदा नयाँ ठेक्का व्यवस्थापन र पुरानो ठेक्कामा काम भए पनि पूरा भुक्तानी दिन समस्या भएको आयोजनाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *