तनाव व्यवस्थापनको औषधि : बुद्धका शिक्षा

मानव जीवनमा चुनौती र तनावका अनेक आयाम छन्। हालै क्यानाडाबाट नेपाल आएका एक जोडीले विमानस्थल नजिकैको एक होटलमा आत्महत्या गरेको दुःखद घटनाले समाजमा मानसिक तनाव र असन्तुलनको गम्भीरता उजागर गरेको छ।

त्यस्तै, अमेरिकामा पारिवारिक विवादका कारण हराएकी ममता नामकी नेपाली युवतीको मुद्दा अदालतमा विचाराधीन छ। आजका धेरै दम्पतीहरु तनाव व्यवस्थापनमा असफल हुँदा सम्बन्ध विच्छेदका घटना बेला बेलामा सुनिन्छ।

यस्ता घटनाहरुले आधुनिक जीवनशैलीले ल्याएको मानसिक र भावनात्मक भारलाई स्पष्ट गर्दछ। यस्तो पृष्टभूमिमा गौतम बुद्धको शिक्षाले ध्यान, करुणा र सही मार्ग अभ्यास मार्फत् समकालीन जीवनका चुनौतीहरुको सामना गर्न सहयोग पुग्दछ।

बुद्धका शिक्षाहरु केवल आध्यात्मिक विकासका लागि मात्र होइन, जीवनका प्रत्येक क्षेत्रलाई सन्तुलित र अर्थपूर्ण बनाउन उपयोगी छन्।

गौतम बुद्धको जन्म इशापूर्व ५६३ सालतिर लुम्बिनीमा भएको हो। उहाँको वास्तविक नाम सिद्धार्थ गौतम हो। उहाँ शाक्य वंशका राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्र हुनुहुन्थ्यो।

सिद्धार्थको मावल देवदह हो। रानी मायादेवी प्रसव आफ्नो मातृगृह देवदह जाने क्रममा लुम्बिनीको एक सुन्दर उपबनमा पुग्दा प्रसव पीडा हुन थाल्यो। उहाँले नजिकैको एउटा सालको रुखको हाँगा समातेल आराम गर्न खोज्दा त्यहीँ सिद्धार्थ गौतमको जन्म भयो।

सिद्धार्थको बाल्यकाल कपिलवस्तुमा राजकुमारको रुपमा बिलासितामा बित्यो। सम्पूर्ण सुविधाले भरिएको जीवनका बाबजुद उहाँको मनमा दुःख, रोग, वृद्धावस्था र मृत्युजस्ता सत्यप्रति गहिरो प्रश्न उठ्न थाले। ती प्रश्नहरुले उहाँलाई असाध्यै ब्याकुल बनाए र २९ वर्षको उमेरमा परिवार, राज्य र राजसी जीवन त्यागेर  सत्यको खोजीमा निस्कनुभयो।

गृहत्यागपछि सिद्धार्थले ज्ञानको खोजीमा विभिन्न स्थानहरुको भ्रमण गर्नुभयो। धेरैजसो समय आफ्नो यात्रामा ऋषि मुनीहरु भेटेर आध्यात्मिक शिक्षा लिनुभयो। उहाँले प्रारम्भिक शिक्षाका लागि आलारा कालम र उद्वक रामपुत जस्ता प्रसिद्ध गुरुहरुसँग शिक्षा लिनुभयो।

तर उहाँलाई ती शिक्षाले पनि पूर्ण सन्तुष्टि दिन सकेन। त्यसपछि उहाँले लामो समयसम्म अन्न र पोषणयुक्त खाना नखाइ कठोर साधना गरी आत्मज्ञान प्राप्त गर्ने प्रयास गर्नुभयो।

कठोर अभ्यासले शरीरलाई थकित र कमजोर बनाउँदै लगभग मृत्युको अवस्थासम्म पुर्यायो। अन्ततः सिद्धार्थ गौतमले कठोर तपस्यालाई त्यागेर मध्यमार्ग अपनाउने निर्णय गर्नुभयो।

उहाँ भारतको बोधगया पुग्नुभयो। बोधगयामा लगातार सात दिन ध्यानमा बिताएपछि अन्त्यमा प्रबोधन (इन्लाइटमेन्ट) प्राप्त भयो। संसारको दुःखको कारण र त्यसबाट मुक्ति प्राप्त गर्ने मार्गको बोध गर्नुभयो।

त्यसपछि उहाँ ‘बुद्ध’ अर्थात् ज्ञान प्राप्त गर्न सफल व्यक्ति बन्नुभयो। बुद्धत्व प्राप्त गरेपछि उहाँले संसारलाई जीवनको दुःख, यसका कारणहरु र समाधानका लागि चार आर्यसत्य र अष्टाङ्गिक मार्गको शिक्षा दिनुभयो, जसले आजसम्म पनि जीवनलाई मार्गदर्शन गरिरहेको छ।

गौतम बुद्धद्वारा प्रतिपादित चार आर्य सत्य यस प्रकार छन्–

दुःख: संसारमा दुःख अनिवार्य छ। जन्म, बुढ्यौली, रोग, मृत्यु, वियोग र इच्छाहरु पूरा नहुनु दुःखका रुपहरु हुन्।

दुःखका कारणः दुःखको मुख्य कारण तृष्णा (इच्छा) हो। यो तृष्णा, सुख, भोग र बस्तुहरु प्राप्त गर्नका लागि हुने अनियन्त्रित लालसा हो।

दुःखको अन्त्यः तृष्णालाई समाप्त गर्न सकेमा दुःखबाट मुक्ति प्राप्त गर्न सकिन्छ। यो अवस्था ‘निर्वाण’ हो, जहाँ मन पूर्ण शान्त र मुक्त हुन्छ।

दुःख अन्त्यको मार्गः दुःख अन्त्यका लागि अष्टाङगिक मार्ग अनुशरण गर्नुपर्दछ।

अष्टाङगिक मार्ग भनेको आठ सिद्धान्तहरुको अभ्यास हो, जसले जीवनलाई सन्तुलनमा राखेर दुःखबाट मुक्त गर्दछ। यी आठ मार्गहरु यसप्रकार छन्–

–सम्यक दृष्टिः सत्यलाई स्पष्ट रुपमा बुझ्नु

–सम्यक संकल्पः हिंसारहित, दयालु र सत्यनिष्ठ सोच राख्नु

–सम्यक वाणीः सत्य बोल्नु, झूट गाली र निन्दा नगर्नु

–सम्यक कर्मः सही आचरण गर्नु, हिंसा, चोरी र गलत कार्य नगर्नु

–सम्यक आजिबिकाः इमान्दार र नैतिक पेशा अपनाउनु

–सम्यक प्रयासः नकारात्मक विचार र भावनालाई रोक्दै सकारात्मकतर्फ ध्यान दिनु

–सम्यक स्मृतिः वर्तमान क्षणप्रति सजग र सचेत रहनु

–सम्यक ध्यानः ध्यानमार्फत् मनलाई स्थिर र स्पष्ट  बनाउनु

आजको व्यस्त जीवनशैली र समाजमा व्याप्त तनाव, पारिवारिक विवाद र मानसिक असन्तुलनका समस्या समाधान गर्न बुद्धका शिक्षाहरु अत्यन्त उपयोगी छन्। हाम्रो दुःखको मूल कारणको पहिचान, त्यसलाई स्वीकार गर्दै समाधानतर्फ अग्रसर हुनु र जीवनलाई सन्तुलनमा राख्ने अभ्यास बुद्धको शिक्षाको सार हो।

चार आर्य मार्गले दैनिक जीवनमा सही आचरण, सचेतता र ध्यानमार्फत् शान्ति र सन्तुलन ल्याउन सिकाउँछ।

बुद्धका यी शिक्षाहरु केवल धर्मको सीमाभित्र सीमित छैनन्। यी मानव जीवनमा हरेक पक्षका लागि मार्गदर्शक हुन्। चाहे व्यक्तिगत तनाव व्यवस्थापन होस् वा सामाजिक सम्बन्ध सुधार, बुद्धका विचारले हामीलाई सम्यक दृष्टि, सोच र कार्यको माध्यमबाट समस्याहरुको समाधान खोज्न प्ररेणा दिन्छ।

आजको चुनौतीपूर्ण समयमा बृद्धको मध्यम मार्गको अभ्यासले सन्तुलित, शान्तिपूर्ण र उद्देश्यमूलक जीवनतर्फ लैजान मद्दत गर्दछ। यसैले यस्ता अमूल्य शिक्षाहरुलाई आत्मसात गरेर हाम्रो जीवनमा लागू गर्ने प्रयास गरेमा हामीले आफ्नो तनाव र दुःखलाई कमगर्दै खुसी र सन्तोषजनक अवस्थामा पुग्न सक्छौं।

-चन्द्र पोखरेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *