गहकिलो सुमधुर स्वर, कालजयी गीत

काठमाडौँ । ३४औँ स्मृति दिवसका अवसरमा आज स्वरसम्राट नारायण गोपालको स्मरण गरिँदैछ । कालजयी गीत गाएर नेपाली संगीतलाई उनले फरक धारबाट परिचित गराएका थिए । गहकिलो एवं सुमधुर स्वरका धनी नारायण गोपालका सबैजसो गीतहरु स्रोतामाझ लोकप्रिय छन् ।

उनका गीतहरु रेडियो नेपाल, विभिन्न एफएम स्टेसन तथा टेलिभिजनबाट मात्र होइन युट्युबमा पनि स्रोता, दर्शकले खोजी खोजी सुन्ने र हेर्ने गर्छन् ।

उनै प्रिय गायकको स्मृतिमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । यस अवसरमा नारायणगोपाल संगीत कोषले नारायण गोपाल सम्मान र संगीत पुरस्कार वितरण गर्ने भएको छ । नेपाल कला संस्कृति विकास केन्द्रले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा कलाकारहरुले नारायण गोपालका गीतहरु गाउने भएका छन् ।

स्मृति दिवस पारेर नारायण गोपाल संगीत कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको ‘नारायण गोपाल स्मृति सम्मान-२०८१’ यो वर्ष पनि विभिन्न संगीतकर्मीहरुलाई प्रदान गरिँदैछ ।

कोषले विज्ञप्ति जारी गर्दै गीतकार शिवशंकर थापा, संगीतकार बुलु मुकारुङ तथा गायक कुमार बस्नेतलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिने जनाएको छ ।

वि. सं. १९९६ मा असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको निधन २०४७ मंसिर १९ गते भएको थियो । २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा उत्तीर्ण गरेका स्वरसम्राट नारायण गोपालले दर्जनौँ कालजयी गीत गाएका छन् ।

्‘म त लालीगुँरास भएँछु’, ‘ए कान्छा ठट्टैमा यो वैँश जान लाग्यो’,‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’, ‘चुमेर पानाभरि’, ‘यो सम्झिने मन छ’, ‘आजै र राति के देखेँ सपना’ लगायत थुप्रै कालजयी गीतहरु स्रोताको मन–मष्तिस्तमा बसेका छन् ।

उनले थुप्रै नेपाली चलचित्रका लागि पनि स्वर दिएका छन् । भारतीय चर्चित गायिकाहरुसँ पनि नारायण गोपालले युगल गीत गाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *