विद्यार्थीले बनाए चालकले मदिरा खाएको पत्ता लगाउने उपकरण
विराटनगर । मोरङको बूढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीले आफैँले चलाउने सवारीमा सम्बन्धित चालकले मदिरा खाएको, नखाएको जाँच गर्ने उपकरण बनाएका छन् ।
पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो वर्षका विद्यार्थीले ६ महिना लगाएर उक्त उपकरण बनाएका हुन् । कुनै पनि सवारीमा जडान गरेर चालकले कति प्रतिशत मदिरा खाएको भन्ने पत्ता लगाउन उक्त उपकरण उपयोगी भएको जनाइएको छ ।

विद्यार्थीहरुका अनुसार ‘अल्कोहल टेस्ट’ उपकरणलाई स्तरोन्नति गरेर कार, मोटरसाइकल, बस, ट्रक र जुनसुकै सवारीको इन्जिनमा जडान गर्न सकिन्छ । चालकले ४० प्रतिशतभन्दा बढी मदिरा सेवन गरेको भए उपकरणले तत्काल संकेत गर्ने उनीहरुको भनाइ छ ।
त्यस्तो बेला उक्त उपकरणले ‘तिमीले धेरै मदिरा पिएका छौ, यसैले सवारी चलाउन योग्य छैनौ’ भन्ने सन्देश दिन्छ । यो उपकरणले दुर्घटना कम गर्न सहयोग पुग्ने पोलिटेक्निकका इन्जिनियर तथा शिक्षक दिपेन्द्र यादवले बताए । उनका अनुसार चालु शैक्षिक सत्र मेकानिकल इन्जिनियरिंङग तेस्रो बर्षका विद्यार्थीहरुले विभिन्न पाँचवटा अविष्कारहरु गरेका छन् ।
गियरवाला विद्युतीय मोटरसाइकल

मनमोहन पोलिटेक्निककै इन्जिनियरिङ तर्फका विद्यार्थीले गियरवाला विद्युतीय मोटरसाइकल पनि निर्माण गरेका छन् । हाल बजारमा सञ्चालन भइरहेका इलेक्ट्रिक मोटरसाइकलहरुमा गियर नहुने तर आफूहरुले गियरसहित बनाएको उनीहरुको भनाइ छ ।
यो प्रविधिलाई स्तरोन्नति गरेर बजारमा गियरवाला मोटरसाइकल सञ्चालन गर्न सकिने शिक्षक तथा इन्जिनियर रामकुमार यादवले जानकारी दिए । उनका अनुसार चालु बर्ष इन्जिनियरिङ तर्फका विद्यार्थीले ५ वटा र इलेक्ट्रिक इन्जिनियरिंङ तर्फका विद्यार्थीले विभिन्न ३ वटा अविष्कारहरु प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले सोमवार पोलिटेक्निक परिसरमा ब्याट्रीबाट चल्ने ह्वीलचेयर, हाइड्रो पावर, ट्रान्सफरमर इलेक्ट्रिक कन्ट्रोलर र स्वचालित कार, अल्कोहल टेष्ट डिभाइस, गियरवाला इलेक्ट्रिक मोटरसाइकल प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले गरेको अविष्कारको प्रदर्शन मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल रजिष्टार डा. दिलनाथ फुयाल, उद्योगी सोम घिमिरे, सामाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्री लगायतले अवलोकन गरेका थिए ।
