उपनिर्वाचन : कांग्रेस १७, माओवादी ११, एमाले ८

काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार सोमबार रातिसम्म सबै स्थानको मतपरिणाम सार्वजनिक भएको हो ।

पछिल्लो पटक घोषित परिणामअनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल ५ हजार ३ सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुरेन्द्र मानन्धरले ४ हजार ३ सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ मत प्राप्त गरे । मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १७ पदमा जीत हासिल गरेको छ । यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ ।

माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।

उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाएका छन् । कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो ।

आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *