‘फेस अफ क्लासिक डाइमन्ड’ को उपाधि पूर्णिकालाई
काठमाडौँ । फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता सिजापति बनेकी छन्। काठमाडौँमा सम्पन्न ग्रान्ड फिनालेमा फर्स्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बने।
स्मृति श्रेष्ठले प्रतियोगितामा उत्कृष्ट वाकको उपाधि समेत जितिन् । सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’ को उपाधि जित्न सफल भइन् । शीर्ष विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, फर्स्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरे । विजेताहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा काम गर्ने अवसर पनि पाउनेछन् ।
क्लासिक डाइमन्डको ग्रान्ड फेशन र ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौँमा हुनेछ । सोही कार्यक्रममा विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ । देशभरका विभिन्न क्षेत्रबाट अडिसनमार्फत छानिएका २६ मोडल करिब एक महिना तालिम सहित प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ती गुजराल र कोरियोग्राफर रेहान शाह थिए ।
