स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मतदान
फाइल तस्बिर
काठमाडौं । विभिन्न स्थानीय तहमा रिक्त ४१ सदस्य चयन गर्न आज आइतबार उपनिर्वाचन अन्तर्गत मतदान हुँदैछ । यसका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ । आजै साँझदेखि मतगणना सुरु गरिने आयोगले जनाएको छ ।
यसपटक आयोगले मतदान भएकै स्थानमा मतगणना गर्ने व्यवस्था गरेको छ । सोमबारसम्म सबै परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ ।
३२ जिल्लाका स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र ३३ जना वडाअध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो ।
४४ पदका लागि उपनिर्वाचन भए पनि यसअघि एक जना वडाअध्यक्ष र दुई जना जिल्ला समन्वय समिति प्रमुख निर्विरोध भइसकेका छन् ।
आयोगले मतदानस्थल निर्माण र सम्बन्धित स्थानमा निर्वाचन सामग्री पुर्याउने काम सकिएको जनाएको छ । सुरक्षा निकायका कर्मचारी पनि मतदान स्थलमा खटिइसकेका छन् ।
एउटा मतदान केन्द्रमा कम्तीमा १३ जना सुरक्षाकर्मी खटाइएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका बाजुरालगायतका केही स्थानमा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनका बेला सवै सार्वजनिक यातायात खुला रहनेसमेत आयोगले जनाएको छ । निर्वाचन परिसरवाहेक मतदाताले सवारीसाधन प्रयोग गर्न पाउने र शारीरिक अशक्त र ज्येष्ठ नागरिकलाई मतदान स्थलसम्म पुग्न यातायातको विशेष व्यवस्था गरिएको आयोगको भनाइ छ ।
निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकता, राहदानी, सवारी लाइसेन्स, राष्ट्रिय परिचयपत्रलगायत नेपाल सरकारले जारी गरेका कुनै पनि परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाएको छ ।
