गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सुविधा
झापा । झापाको हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराउन थालेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले यस्तो सुविधा उपलब्ध गराउन थालेको हो ।
पालिकाले सञ्चालन गरेको ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ अन्तर्गत यी सुविधा दिइने गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । उनका अनुसार यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ ।
गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भ जाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप दुई हजार दिँदै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था गरिएको छ । पालिकाले निःशुल्क प्रयोगशाला सुविधा दिँदै आएको छ ।
गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत चार लाख २९ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
