यु-१९ एसिया कप : श्रीलंकासँग नेपाल पराजित
काठमाडौं । यूएईमा सुरु भएको यू–१९ एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा श्रीलंकाले नेपाललाई ५५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
टस हारेर पहिलो ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाउँदै २ सय ३३ रन चुनौती नेपाल सामु प्रस्तुत गर्यो ।
शरुकजन शन्मुगनाथले ६२ रन, लक्भीन अबेसिंगा ५३ रन, कभिजा गिमामगेले ३७ रन, दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४ रन जोडे ।
नेपालका लागि सन्तोष यादवले ४ विकेट, युवराज खत्रीले २ विकेट, कप्तान हेमन्त धामी र नरेन साउदले समान १–१ विकेट लिए ।
नेपालले पाएको २ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा ४६ ओभर २ बलमा सबै विकेटको गुमाउँदै १ सय ७८ रनमै समेटियो । मायन यादवले ६२, आकाश त्रिपाठीले १९, उत्तम थापामगरले १७, नरेन साउदले १६, अर्जुन कुमाल र नरेन भट्टले समान १२ तथा सन्तोष यादवले १० रन बनाए ।
श्रीलंकाका प्रभिन महेशले ३, न्यूटान रन्जितकुमार, मथुलन कुगाथस र भिहास थिवमिकाले समान २–२ तथा विरन चामुदिथले १ विकेट लिए ।
नेपालले दोस्रो खेलमा मंसिर १६ गते आइतबार बंगलादेशको सामना गर्नेछ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगिताको समूह ‘बी’मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् भने समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।
