तीन महिनामा ७ अर्ब ८२ करोडको कृषिजन्य वस्तु निर्यात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो तीन महिनामा ७ अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँ बराबरको कृषि बाली भारत निर्यात भएको छ । यो अवधिमा आयात भने निर्यातभन्दा निकै कम छ ।

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयका अनुसार उक्त अवधिमा पूर्वी नाकाबाट ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार यस अवधिमा ४ अर्ब ४८ लाखको चिया निर्यात भएको छ ।

अलैँची एक अर्ब ५५ करोड, प्लाई तथाभेनियर एक अर्ब पाँच करोड, अम्लिसो ३३ करोड ९६ लाख तथा अदुवा २० करोड ५५ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्यांक छ ।

कार्यालयका अनुसार ६ करोड ४८ लाखको बन्दाकोभी, एक करोड ५५ लाखको मसुरो दाल, ५१ लाख १९ हजारको जडीबुटी र रु ११ करोड ५३ लाखको अन्य कृषि बाली भारत निर्यात भएको छ ।

सोही अवधिमा भारतबाट गेडागुडी, ताजा फलफूल, आलु, लसुन, कोदोलगायत वस्तु आयात भएको छ । चार महिनामा २२ करोड ३१ लाखको गेडागुडी, १५ करोड ३० लाखको आलु, १४ करोड १३ लाखको ताजा फलफूल, ११ करोड सात लाखको लसुन, छ करोड ४४ लाखको कोदो, पाँच करोड ३४ लाखको सागसाब्जी र पाँच करोड दुई लाखको अन्य कृषि बाली आयात भएको तथ्यांक छ ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च मागसँगै राम्रो मूल्य पाउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *