रुद्रेश्वर शिव पञ्चायन मन्दिरमा मंसिर १६ देखि सप्ताह ज्ञान महायज्ञ

विराटनगर । विराटनगर महानगरपालिका-४ स्थित रुद्रेश्वर शिव पञ्चायन मन्दिरमा मंसिर १६ गते आइतबारदेखि श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु हुने भएको छ ।

राजवंशी चोकबाट पश्चिममा रहेको सिर्जनशील टोलमा हुने पुराणका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद पोखरेलका अनुसार मन्दिरका लागि अक्षयकोष स्थापना तथा पितृ उद्धारको उद्देश्यले सप्ताह आयोजना गर्न लागिएको हो ।

पुराण वाचन पं. योगेश भण्डारी ‘वराहक्षेत्र’ बाट संकीर्तनमय रुपमा हुनेछ । यस्तै, पं. श्याम पौडेलबाट पाठ पारायण हुने समितिले जनाएको छ ।

पुराण आयोजक मूल समितिका संयोजक नुर्ज तिम्सिनाका अनुसार स्थानीय बासिन्दा मिलेर सप्ताह पुराण आयोजना गर्न लागिएको हो । पुराणका लागि पण्डाल बनाउने लगायत काम धमाधम भइरहेको उनले जानकारी दिए ।

पुराणका लागि विभिन्न समिति बनाएर पूर्वतयारीको काम भइरहेको व्यवस्थापन समितिका कृष्ण बोगटीले बताए । कार्यक्रमअनुसार पहिलो दिन आइतबार कलशयात्रा तथा मण्डप पूजा गरिने छ । भोलिपल्ट १७ गते सोमबारदेखि २३ गतेसम्म पुराण सञ्चालन हुनेछ ।

बिहान मण्डप पूजा गरी साढे १० बजेदेखि पाठ पारायण गरिनेछ भने ११ बजेदेखि दिउँसो ३ बजेसम्म श्रीमदभागवत कथा प्रवचन अनि त्यसपछि आरती र पुष्पाञ्जली गरिने छ ।

यसैगरी, साँझ ६ बजे ओमकार दीप प्रज्वलन, त्यसपछि शृंगार आरती, ७ देखि ९ बजेसम्म महात्म्य पाठ गरिने छ । त्यस क्रममा कथा, झाँकीसहित भजन कीर्तन गरेपछि विश्राम हुने जनाइएको छ ।

१८ गते हलेसी महादेव उत्पत्तिको कथा तथा झाँकी प्रदर्शन हुनेछ भने १९ गते नृसिंह अवतार, प्रलद चरित्रबारे चर्चा र प्रवचन हुनेछ । २० गते वामन अवतार, नन्द उत्सव तथा झाँकी प्रदर्शन हुनेछ ।

यस्तै, २१ गते श्रीकृष्णको बाल्य लीला र रास प्रसंगको चर्चा र प्रवचन हुनेछ । २२ गते साँझ लाखबत्ती प्रज्वलन गर्ने कार्यक्रम तय भएको अध्यक्ष पोखरेलले बताए । मंसिर २३ गते श्रीमदभागवत द्वादशस्कन्द कथासार एवंभागवतमा लिन, तुलसी अर्चना, यज्ञको पूर्णाहुति तथा तिलक र प्रसाद ग्रहण हुनेछ ।

सप्ताहका अवसरमा विभिन्न दाताहरुलाई सम्मान समेत गरिने भएको छ । १ हजार १०० रुपैयाँ दान गर्नेलाई संकलन केन्द्रबाट दाताको नाम उद्घोष गरी सम्मान गरिने छ । यस्तै, त्यसभन्दा माथि ५ हजार रुपैयाँसम्म दान गर्नेलाई रुद्राक्षमाला, सम्मानपत्र र आशीर्वचन प्रदान गरिने जनाइएको छ ।

५ हजारभन्दा माथि १० हजारसम्म दिने दातालाई रुद्राक्षमाला, रामनामी, सम्मानपत्र तथा आशीर्वचन प्रदान गरिने छ । १० देखि २५ हजार रुपैयाँसम्म दान गर्ने दातालाई रुद्राक्षमाला, रामनामी, सम्मानपत्र र आशीर्वचन प्रदान गरिनुका साथै मन्दिर शिलालेखमा एकजनाको नाम अंकित गरिने छ ।

२५ भन्दा माथि ५० हजार रुपैयाँसम्म दान गर्नेलाई उल्लेखित सबै प्रकारको सम्मानका साथै मन्दिर शिलालेखमा दुई जनाको नाम अंकित गरिने समितिले जनाएको छ ।

पं. योगेश भण्डारी ‘वराहक्षेत्र

एक लाख रुपैयाँभन्दा माथि दान गर्ने दाताको सम्पूर्ण परिवारलाई उल्लेखित सम्मान गरिनुका साथै मन्दिर शिलालेखमा ३ जनाको नाम अंकित गरिने जनाइएको छ । एकलाख भन्दा माथि दान गर्नेलाई उल्लेखितन सबै सम्मान, प्रमुख वाचकबाट आशीर्वचन, ४ पुस्ताको नाम मन्दिर शिलालेखमा अंकित गरिने छ ।

यसका साथै दाताको इच्छा बमोजिम दाताको रकमको अक्षयकोष, मुद्दति ब्याज आयको ५० प्रतिशत रकमको सीमामा रहेर मन्दिरमा निजको इच्छाअनुसार उत्सव, ब्राम्हण दक्षिणा, भोग जस्ता धार्मिक, सामाजिक कार्यमा खर्च गर्न सकिने समितिले जनाएको छ ।

आयोजक रुद्रेश्वर शिव पञ्चायन मन्दिर सेवा समिति, पुराण आयोजक समिति र मूल समारोह समितिले सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन सम्पूर्ण श्रद्धालु, भक्तजन एवं धर्मप्रेमीहरुमा आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *