योगबाट शरीर, मन अनि विचार शुद्धि

योगेन चित्तस्य पदेन वाचां मलं शरीरस्य च वैद्यकेन॥
योऽपाकरोत्तं प्रवरं मुनीनां।पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि॥

योग के हो ?

अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलता, जीवनबाट ब्रह्म, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक तर्फको यात्रा हो योग ।

केही विद्वान ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् । संक्षेपमा भन्नुपर्दा इच्छाशक्तिलाई परमात्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ ।

योग धार्मिक विश्वास अनुसार भगवान शिवद्वारा अनुसरण गरिएको पद्धति योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो । विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । पूर्वीय दर्शन र शास्त्रहरूमा आदिमकालदेखि नै योग शव्दको प्रयोग हुँदै आएको छ । हिन्दू धर्मशास्त्रमा आत्मदर्शन र समाधिदेखि लिएर कर्मक्षेत्रसम्म योगको ब्यापक प्रयोग भएको छ ।

महर्षि पतञ्जलिका सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । योगश्चितवृत्तिनिरोध अर्थात योगले चित्तवृत्तिको निरोध गर्दछ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पत्ति र लय भइरहेको हुन्छ । योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग ।

केही विद्वान ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् संक्षेपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परमात्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । कतिपय विद्वानले योगको वास्तविक अर्थ हो, जोड्नु, मिल्नु वा एकाकार हुनु, यहाँ पुनः अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्था नै योग हो भनेका छन् ।

योग गर्ने अनेकौं विधि छन् । तीमध्ये यहाँ केही विधि उल्लेख गरिएको छ । यसभन्दा अरु धेरै प्रक्रियाहरु छन् योग गर्ने । आधारभूत रुपमा यहाँ उल्लेख गरिएका विधि अभ्यास गर्ने हो भने मानव जीवनलाई सहज बनाउन धेरै मद्दत पुग्ने निश्चित छ ।

भस्त्रिका

यस प्राणायमबाट सर्दी (रूघाखोकी), एलर्जी, श्वासरोग, साइनस आदि रोगको साथै कफ रोगबाट छुटकरा पाइन्छ । फोक्सो सवल हुन्छ । हृदय (मुटु) र मष्तिस्क शुद्ध हावा लिनाले आरोग्य लाभ हुन्छ । थाइराइड, टन्सिल आदि गलाको सबै रोग हट्छ । रगत शुद्ध गर्न र शरीरका बिकारहरू बाहिर निकाल्न मद्दत गर्छ । प्राण र मनलाई स्थिर बनाई प्राणोत्थान तथा कुण्डलिनी जागरण बनाउन सहयोग पुर्याउँछ । यो प्राणायाम ३ देखि ५ मिनेट गर्नुपर्छ ।

कपालभाती प्राणायाम

यसबाट मष्तिस्क (दिमाग) मुखमण्डलमा ओज तेज आभा आउनुका साथै सौन्दर्य बढाउँछ । सबै कफ रोग, दम, खोकी, एलर्जी, साइनस आदि रोगबाट छुटकरा पाइन्छ । हृदय, फोक्सो र मष्तिस्कको रोग हट्छ । मोटोपना मधुमेह (सुगर) ग्यास, कब्जियत, अम्लपित्त, मिर्गाैला र प्रोस्टेडसँग सम्बन्धी रोगहरू हट्छ । कब्जियत जस्तो खतरनाक रोगबाट मुक्ति पाउन १०–१५ मिनेट प्रत्येक दिन गर्न सकिन्छ । यसले मधुमेह नियन्त्रण हुन्छ । एक महिनासम्म लगातार गर्नाले बढेको पेट कम हुनुको साथै वजन पनि ४ देखि ८ किलो घट्छ । मुटुमा आएको अवरोध खुल्छ मन स्थिर प्रसन्न भएर नकारात्मक विचार हट्छ ।

यसैगरी, डिप्रेशन आदि रोगबाट मुक्ति पाइन्छ । चक्र शोधन भई मूलाधार चक्रदखि सहस्रार चक्रसम्म सबै चक्रसम्म एक दिव्य शाक्ति जागरण भएको महसुस हुन्छ । यसबाट आमाशय, अग्न्यासय (पेन्क्रियाज) लिभर, प्रोस्टेड र मिर्गौलालाई खास फाइदा गर्छ । पेटको लागि त अरू आसनबाट नभएको फाइदा पनि यसले दिन्छ । पाचनशक्ति कमजोर भएकोलाई सबल र सक्षम बनाउँछ ।

बाह्य प्राणायाम

यसले कोलेस्ट्रोल मनको चन्चलता हटाउँछ जठराग्नी अर्थात् पेटको अग्नि बढाई भोक लाग्छ । उदररोगमा फाइदा गर्छ बुद्धि सुक्ष्म र तीव्र हुन्छ । वीर्यको उत्पादन क्षमता गराई स्वप्नदोष शीघ्रपतन र धातु विकारलाई समाप्त गर्छ । साथै सबै स्त्रीरोग गर्भाशय सम्बन्धी खराबीहरूलाई यो प्राणायाम अत्यन्त फाइदाजनक छ । यसले पेटसम्बन्धी सवै भागमा बल पर्ने हुँदा सुरूमा पेटको कमजोर तथा रोगग्रस्त भागमा हल्का दुखाई हुन्छ । आत्तिनु पर्दैन । पेटलाई आराम तथा आरोग्य दिनलाई त्रिबन्धपुर्वक यो प्राणायाम गर्नुपर्दछ ।

अग्निसार क्रिया

यो प्राणायाम नभई बाह्य प्राणायमको सहयोगी क्रिया हो । यसले पेटमा भएका सवै बिकारहरू जस्तै अपच, कब्जियतलाई नष्ट गर्छ । पाचन प्रणाली राम्रो हुन्छ । बिहान सबेरै उठेपछि २–३ गिलास मनतातो पानी पिउने बानी पार्नु पर्छ । यसले नियमित दिशा गराउन सहयोग गर्छ । यस क्रियाको नियमित अभ्यासले मोटोपन, मधुमेह, मूत्र रोग ठिक भई पिसाबमा जलन कम हुन्छ । बहुमूत्र हुन बन्द हुन्छ ।

उज्जायी प्राणायाम

जसलाई वर्ष भरी नै अर्थात १२ महिना रूघाखोकीका साथै टन्सिल, थाइराइड, अनिन्द्रा, मानसिक, तनाव, रक्तचाप, अजीर्ण, आमवात, जलोदर, क्षयज्वर, प्लिहा आदि रोगले सताएको छ, त्यस्तालाई यो प्राणायाम लाभकारी छ । गलालाई ठिक निरोगी र मधुर बनाउनका लागि यसको नियमित अभ्यास गर्नुपर्छ कुण्डलिनी जागरण र अपच ध्यान आदिको लागि पनि अत्यन्तै फाइदा गर्छ ।

अनुलोमविलोम प्राणायाम

हाम्रो शरीरमा ७२ करोड ७२ लाख १० हजार २०१ नाडीहरू छन् । ती सुषप्त अवस्थामा हाम्रो शरीरमा बसेका हुन्छन् । ती सबैलाई जाग्रित गराई परिशुद्ध गर्ने काम यो प्राणायमले गर्छ । साथै सबै नाडीहरू शुद्ध हुने हुँदा शरीर पूर्ण स्वस्थका साथै कान्तिमय र बलियो हुन्छ । सन्धिवात, आमवात, गठिया, कम्पवात, स्नायुदुर्वलता आदि सबै वाथ सम्वन्धी रोगहरू मूत्ररोग, धातुरोग, शुक्रक्षय, अम्लपित्त, शितपित्त आदि सवै पित्तरोग रूघाखोकी, बिग्रेको रूघा, साइनस, दम, खोकी, टन्सिल आदि सवै कफ रोग नास हुन्छ ।

मुटुको नशा, प्वालहरूमा भएको अवरोध खुल्छ । यो प्राणायाम नियमित गर्नाले लगभग ३–४ महिना पछि ३० देखि ४० प्रतिशतसम्म अवरोध आफैँ खुलेको एउटा रोगीलाई प्रयोग गर्दा पत्ता लागेको छ । नकारात्मक चिन्तनमा परिवर्तन आई सकारात्मक सोच हुन्छ । शरीरमा आनन्द उत्साहका साथै निर्भयता प्राप्त हुन्छ ।

साराशंमा भन्नु पर्दा यो प्राणायामवाट मन, तन विचार संस्कार सवै परिशुद्ध हुन्छन शरिरमा भएका सम्पूर्ण रोगहरू नष्ट हुन्छन, यो प्राणायामले जुनसुकै रोगको लागि पनि लाभकारी छ । मन शुद्ध भई ओमकारको ध्यानमा लिन भइन्छ । यो प्राणायाम २५० देखि ५०० पटकसम्म गर्नाले मूलाधार चक्रको कुण्डलिनी शक्ति जुन अधोमुखी हुन्छ त्यो उर्धमुखी हुन्छ । अर्थात कुण्डलिनी जागरणको प्रक्रिया प्रारम्भ हुन्छ ।

भ्रामरी प्राणायाम

भ्रामरी प्राणायामले चञ्चल मन शान्त हुन्छ । मानसिक तनाव, उत्तेजना, उच्च रक्तचाप, हृदय रोग, नाक, कान, घाँटीको रोगमा धेरै फाइदा हुन्छ ध्यान गर्नको लागि यो प्राणायाम अति महत्वपूर्ण छ ।

उदगिथ प्राणायाम (ओमकार जप)

यो प्राणायामले साधकले ध्यान गर्दा गर्दा सच्चिदान्नद स्वरूप ब्रह्मको स्वरूपमा एक चित्त भई त्यसैमा डुब्छ । दिव्य आनन्द प्राप्त हुन्छ । हामी सुत्ने बेलामा पनि यो ध्यान गर्नाले सुत्दा गहिरो र चाडै निन्द्रा पर्ने तथा नराम्रा सपनाबाट मुक्ति पाइन्छ ।

प्रणव प्राणायाम (प्रण जप)

यो प्राणायाम नै प्राणायामको चरण हो । यसलाई ध्यान अवस्थामा बस्ने भनिन्छ । वस्तुतः प्राणायामको परिणाम नै ध्यान हो । सवै प्राणायाम सम्पन्न गरिसकेपछि इन्द्रीय एवं मनलाई विश्राम दिन लामो सास लिँदै छाड्दै आरामसाथ मुख, आँखा बन्द गरी एक चित्त भई आसन शुद्ध गरी ध्यानमा बस्नु पर्छ । यसले गर्दा हाम्रो सम्पूर्ण जीवन योगमय हुन्छ । मनलाई स्थिर राख्दै आत्मबोध गराई ध्यान शक्तिलाई उजागर गर्ने हुनाले कम्तिमा २ मिनेट यो प्राणायम गर्नुपर्छ ।

(योगसम्बन्धी विभिन्न ग्रन्थ र अनुसन्धानमा आधारित अभिलेखबाट)
-उल्लेखित योग कसरी गर्ने भन्ने अभ्यास युट्युबमा हेर्न सकिन्छ वा योगसम्बन्धी भरपर्दो ग्रन्थ हेरेर अभ्यास गर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *