मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने
काठमाडौं । मानव तस्करी प्रकरणमा नाम जोडिएको भनिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।
सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । मुद्दा चलाउन पर्याप्त आधार र प्रमाण नदेखिएको भन्दै अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय उक्त कार्यालयले गरेको हो ।
काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको जानकारी दिए । यही मुद्दामा प्रतिवादी बनाइएका अन्य ११ जनाविरुद्ध भने मुद्दा चल्ने भएको छ । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अभियुक्तविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अर्यालका अनुसार ११ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । मुद्दामा जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र योगराज गौतमलाई प्रतिवादी बनाइएको छ । अभियुक्तमध्ये ३ जना फरार छन् ।
विवादास्पद हिसाबले जापान भ्रमणमा गएका अधिकारीले असम्बन्धित व्यक्तिहरु पनि आफूसँगै जान लागेपछि कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र नेपाल प्रहरीको विशेष ब्युरोका डीआईजी राजन अधिकारीलाई जानकारी गराएका थिए ।
डीआईजीद्ववयलाई दिएको जानकारीका आधारमा उनलाई मुद्दा नचलाउने निर्णय भएको स्रोतले बतायो । गैरकानुनी हिसाबले जापान प्रवेश गर्न खोजेको भन्दै त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित ४ जनालाई ‘डिपोर्ट’ गरेर नेपाल फिर्ता पठाएको कुरा बाहिर आएको थियो । तर, अनुसन्धानबाट अधिकारी आफैंले अध्यागमनलाई जानकारी गराएर फर्किएको पत्ता लागेको छ । अरु ३ जनालाई चैं ‘डिपोर्ट’ गरेर फिर्ता पठाइएको यकिन भएको अर्यालले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीसी क्यामेरा फुटेजबाट पनि उनी अन्य युवासँग गएको नदेखिएको प्रहरीले जनाएको छ। अर्कोतर्फ अधिकारीले अनुसन्धानमा जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै आएका थिए । उनले मानव तस्करको गिरोहले आफूसँगै ३ जनालाई गैरकानुनी हिसाबले पठाउन खोजेपछि जापानको कार्यक्रममा सहभागी नभइ आफू नेपाल फर्किएको बयान दिएका छन् ।
पूर्वमन्त्री अधिकारी जापानको टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै कात्तिक ११ गते क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए । सरकारको स्वीकृति बिना जापान गएको पाइएपछि उनी विवादमा परेका थिए ।
विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । अधिकारीले एमालेको सबै जिम्मेवारीबाट आफूलाई हटाउनुपर्ने मागसहित पार्टीमा निवेदन पनि दिएका थिए। त्यसपछि पार्टीले उनलाई तत्कालका लागि निलम्बन गरेको थियो ।
अधिकारीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा जापान जान खोजेका थिए ।
मानव तस्करको गिरोहले लुकिछिपी उतै बस्ने गरी उनीलाई मन्त्रीकै साथ लगाएर जापान पठाएको अनुसन्धानबाट खुलेको छ । तर, अधिकारीसँग उनीहरुको भेट हङकङमा मात्रै भएको पत्ता लागेको छ ।
कात्तिक १४ गते नेपाल फर्किएपछि तीनै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको थियो । मन्त्री अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
यो प्रकरणमा मुछिएका नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरीका ३४ वर्षीय महेश पाण्डेसमेत पछि पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमध्ये शेर्पाका भाइ जापानमा बस्छन् । नेपालमा ट्रेकिङको काम गर्ने शेर्पाका भाइले दोलखाका वीरबहादुरलाई चिनेका थिए । त्यही चिनजानका कारण जापान जान शेर्पाले वीरबहादुरको बैंक खातामा ११ लाख ५५ हजार ‘डिपोजिट’ गरिदिएको अनुसन्धानबाट खुलेको छ । जापान जान देवकोटाले १० लाख बुझाएको पाइएको छ ।
जापानबाट फिर्ता भएका शेर्पाको साथबाट खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिका–२ को वडा सदस्यको परिचयपत्र र देवकोटा तथा राईले साथबाट कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ कर्मचारीको नक्कली परिचयपत्र फेला परेको थियो ।
