पर्यटक भित्र्याउन ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’

विराटनगर । खोटाङमा ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ को तयारी सुरु गरिएको छ । पुस १७ गते औपचारिक रूपमा सुरु हुने कार्यक्रमका अवसरमा महोत्सव पनि मनाइने भएको छ ।

भ्रमण वर्षको अवधिमा करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ । यसका लागि मैयुङ ट्याम्के साल्पासिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजकत्व र मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मूल व्यवस्थापन समितिको अगुवाइमा काम भइरहेको छ ।

यी संस्थाको आयोजनामा भएको बैठकले विभिन्न स्थानीय तहहरूलाई मुन्दुम ट्रेलसँग जोडिएका आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकीय क्रियाकलापहरूमा पर्यटन प्रवर्द्धन गर्न मद्दत गर्ने खालका मौलिक कार्यक्रमहरू समावेश गराउने निर्णय गरिएको छ ।

भ्रमण वर्षमा टेम्के मैयुङ गाउँपालिकामा गुराँस तथा घोडचढी महोत्सव, फिल्म सुटिङ महोत्सव, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे महोत्सव हुने जनाइएको छ ।

यस्तै, साकेला गाउँपालिकामा उधौली–उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सज लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *