‘बिलौनै बिलौना’ लिएर आउँदै कट्टेल

विराटनगर । पूर्वका सक्रिय कवि हरि कट्टेल आफ्नो नयाँ कृति लिएर आउने भएका छन् । कविता संग्रह ‘बिलौनै बिलौना’ को दोस्रो संस्करण लिएर उनी पाठकमाझ आउने भएका हुन् ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालको आयोजनामा शनिबार विराटनगरस्थित राष्ट्रसेवक बचत तथा सहकारी संस्थाको सभाहलमा उक्त कृति सार्वजनिक गरिने भएको छ ।

यो कृति उनको यसअघि पहिलो पटक २०४५ मा प्रकाशित भएको थियो । यसपटक त्यति बेलाका सहित थप कविताहरु संग्रह गरिएको सर्जक कट्टेलले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलका अनुसार कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा विराटनगर र आसपास क्षेत्रका साहित्य सर्जक, साहित्यप्रेमी एवं विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता हुने जनाइएको छ ।

कट्टेलका यसअघि विभिन्न विधाका ७ वटा कृति प्रकाशित भइसकेका छन् । ‘अनावृत्त आकृति’, ‘आँखामा अल्झिएका आँखाहरु’, ‘मुटु टुक्रिएपछि’, काँडा टेकेर फूलका कुरा’, ‘माधवआनी’, ‘हिउँचुलीमा हिउँ’, ‘चन्द्रकान्ति’ यसअघि प्रकाशित सर्जकका कविता,, गजल र खण्डकाव्य हुन् ।

नवौँ कृतिका रुपमा ‘दीप्तदृष्टि’ नामक छन्दोबद्ध कविता संग्रह प्रकाशनको तयारीमा उनी छन् । हाल उक्त कृति छपाइका क्रममा रहेको कट्टेलले जानकारी दिए ।

मूलतः छन्दवादी कविका रुपमा चिनिएका कट्टेलको ‘माधवआनी’ खण्डकाव्य लोकप्रिय कृति हो । उनी विशेषतः शास्त्रीय छन्दमा कविता लेख्छन् । ‘बिलौनै बिलौना’ शार्दूलविक्रीडित विक्रीडित छन्दमा लेखिएको छ । कट्टेल प्रखर समालोचकका रुपमा पनि चिनिन्छन् ।

निरन्तर साहित्य सिर्जनामा लागेका कट्टेलले वाणी पुरस्कार, नेचाली तारा सम्मान, दुर्लभ लामिछाने स्मृति पुरस्कार, षडानन्द प्रतिभा पुरस्कार, चोमोलोङ्मा साहित्य सम्मान, राजेश्वर रेग्मी स्मृति गजल पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी, उनले भारतको असममा लङ्का आञ्चलिक नेपाली कला कृष्टि सम्मान, जन संस्कृति सम्मान (विहार), इटहरी काव्य पुरस्कार, मोती पुरस्कार, प्रदेश भाषा, साहित्य कला र संस्कृति सम्मान पुरस्कार पनि उनले प्राप्त गरेका छन् । छन्दवाटिका नेपालका अध्यक्ष रहेका कट्टेल साहित्यलगायत विषयसँग सम्बन्धित करिब एक दर्जन संस्थाहरुमा आबद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *