लामो दूरी बसाइँ सर्ने चराको अध्ययन र संरक्षणको पहल
विराटनगर । चीनको राजधानी बेइजिङ्गमा हालै सम्पन्न दोस्रो एसियाली चरा सम्मेलनबाट एसियन अर्नीथोलोजिकल अलायन्स गठन गरिएको छ । इन्स्टिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साइन्सेजका प्राध्यापक वरिष्ठ चरा वैज्ञानिक फुमिन लीको अध्यक्षतामा गठन भएको अलायन्सले एसियामा पाइने चरा र तिनको बासस्थानको अनुसन्धान एवं संरक्षणका लागि अन्तरदेशीय सहकार्य र समन्वय गर्ने भएको छ ।
विभिन्न ३९ देशका ५२८ चरा अनुसन्धानकर्ता तथा संरक्षणकर्मी सहभागी उक्त चरा सम्मेलनमा नेपालबाट ६ जना चरा अनुसन्धानकर्मीले आफ्नो प्रस्तुति राखेका थिए ।
इन्स्टिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साइन्सेजको मुख्य आयोजनामा सम्पन्न सम्मेलनमा आइयुसियन दुर्लभ चराको रातो सूचीका सदस्य कृष्ण भुसालले नेपालको अवस्थाबारे प्रस्तुति दिएका थिए ।

उनले जाडो याममा बसाइँ सरी नेपाल आउने अति संकटापन्न बगाले बगेडीको बिगत सात वर्षको अनुगमन तथ्यांक, बासस्थानको अवस्था, संरक्षण कार्यक्रम र चुनौती आफ्नो प्रस्तुतिमा समेटेका थिए ।
नेपालमा गिद्ध संरक्षणको अवस्था र स्याटेलाइट ट्याग गरेका गिको अन्तरदेशीय विचरण र संरक्षणमा हातेमालोको औचित्य बारेमा नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अंकित बिलास जोशीले प्रस्तुति राखेका थिए ।
त्यसगरी, दुर्लभ सानो खैरो गिद्धको पोखरा उपत्यकामा संख्या, बितरण र मान्छेहरुको गिद्ध प्रतिको धारणाबारे पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
पोखरा उपत्यका सानो खैरो गिद्धको सबैभन्दा धेरै संख्या पाइने स्थान हो । यसको संख्या देशभर ५० देखि ७५ को संख्यामा मात्र रहेको अनुमान गरिएको छ भने पोखरा उपत्यकामा करिब ३० प्रतिशत पाइन्छ ।

नेपालमा चरा अनुसन्धानको अवस्थाबारे थर्डपोल कन्जरभेन्सीका दिक्पाल कर्माचार्य र घर भँगेराको प्रजनन चक्रबारेमा विज्ञ अनुज घिमिरेले प्रस्तुति राखेका थिए । सम्मेलनमा काठमाडौं उपत्यका भित्रका हरित क्षेत्र र त्यसको चरा विविधतासँगको सम्बन्धबारे सविना वस्तीले पोष्टर प्रस्तुत गरिन् ।
सम्मेलनमा जमिनमा बस्ने र लामो दूरीको बसाइँ सराई गर्ने चराको अनुसन्धान र संरक्षणमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे राउन्ड टेबल छलफल पनि भएको थियो । खेतबारी र घाँसेमैदान जस्ता खुला भुभागमा बस्ने चराका प्रजातिहरु पछिल्ला वर्षहरुमा घट्दै गएकोमा तिनको अनुगमन र संरक्षणकाबारे सहभागी विज्ञहरुले छलफल गरेका थिए ।
