जनकपुरधाममा विवाह पञ्चमीको तयारी धमाधम
फाइल तस्बिर
जनकपुर । त्रेतायुगमा राम र जानकीबीच भएको विवाहको सम्झना प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमीको तयारी सुरु भएको छ । पर्वका रुपमा मनाइने यो कार्यक्रमका लागि प्राचीन मिथिलाको राजधानी जनकपुरधामदेखि अवधको राजधानी उत्तर प्रदेशको अयोध्यासम्म निम्तो पठाइएको छ ।
साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी मेला भर्न ठूलो संख्यामा नेपाल र भारतका विभिन्न स्थानका तिर्थालुहरु जनकपुरधाम आउने गरेका छन् ।
त्रेता युगमा मंसिर शुक्लपक्षको पञ्चमी तिथिमा अयोध्याका राजा दशरथका पुत्र रामको मिथिला नरेश जनककी पुत्री जानकीसाग भएको वैवाहिक समारोहको सम्झना ताजा बनाउन त्यसको तयारीमा जानकी मन्दिर, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न संघ संस्था र युवा क्लबहरु जुटेका छन् ।
मिथिला सस्ंकृतिको महत्वपूर्ण अंग विवाह पञ्चमीलाई भव्य र सभ्य बनाउन यस वर्ष जनकपुरधामबाट ‘अयोध्या पाहुर’ सहित निम्तो पठाइएको छ । यसका लागि मधेश प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंह, प्रदेशका मन्त्रीहरु, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह लगायत विभिन्न संघ संस्थाका २ सय ५० जना भन्दा बढिको प्रतिनिधि मण्डल अयोध्या गएको छ ।
