ताप्लेजुङबाट तमोर करिडोर हुँदै इटहरी जोड्ने सडक खुल्यो
ताप्लेजुङ। बाढी पहिरोका कारण गत वर्षदेखि अवरुद्ध पाँचथरको भालुचोकदेखि धनकुटाको मुलघाट–भेडेटार–धरान हुँदै इटहरी जोड्ने तमोर करिडोर खुलेको छ।
निर्माण कम्पनी एपेक्स कन्स्ट्रक्सन प्रालिले हेवाखोलामा हृयुम पाइप राखेर सडक खुलाएको हो। कम्पनीका प्रोजेक्ट मेनेजर अभि पोख्रेलका अनुसार सोमबारदेखि साना ठूला सबै सवारी चल्न थालेको छ।
उनका अनुसार हेवा खोलामा ९० एमएमको १४ वटा ह्युम पाइप राखिएको छ। माझिटार छेउमा रहेको मोटरवेल पुल गत वर्षको वर्षाले बगाएको थियो।
हिउँदमा खोलो घटेपछि साना सवारीसाधन सामान्य चलेका थिए। गत असोजको वर्षाले सडक पूरै बगाएको थियो। अहिले ह्युम पाइप राखेपछि व्यवस्थित भएको कम्पनीले जनाएको छ।
तमोर करिडोरका आयोजना प्रमुख प्रदीप निरौलाका अनुसार सडक खुलेपछि ताप्लेजुङलगायत सम्बन्धित जिल्लालाई राहत पुगेको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाँचथरको कावेली वा भालुचोक भएर यो सडकबाट यात्रा गर्न सकिन्छ।
