४४ पदका लागि ४०७ जना चुनावी मैदानमा
काठमाडौं । स्थानीय तहका विभिन्न पदका लागि हुने उपनिर्वाचनका लागि ४ सय ७ जना मैदानमा उत्रिएका छन् । ४४ वटा रिक्त रहेका पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
आइतबार बिहान १० देखि साँझ ५ बजेसम्ममा मनोनयनको समय तोकिएको थियो । निर्वाचन आयोगका अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी ८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
गाउँपालिका र नगरपालिकाको वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरूष र १ अन्य गरी जम्मा ३ सय २३ जनाले उम्मेदवारी दिएका छन् ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ महिला र ओखलढुंंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन दर्ता भएको बताइन् ।
सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ र बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्ष पदमा ३/३ जनाको उम्मेदवारी परेको उनको भनाइ छ ।
आइतबार उम्मेदवारी दर्ता गरेकाको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने छ । बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
