टेलिकमको सुन्धारा शाखामा अब रोबोटले सेवा दिने

काठमाडौँ । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले सुन्धारामा रहेको शाखा कार्यालयमा रोबोट प्रविधिको प्रयोग शुरू गरेको छ ।

सुन्धारा शाखा कार्यालयमा आज ‘एआई ज्याक’ रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए ।

उनका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय जना सेवाग्राही आउने गरेका छन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन हुने गरेकोमा अब भने रोबोटले धेरै काम सजिलो बनाउने अपेक्षा लिएको कार्यालय प्रमुख पन्थीको भनाइ छ ।

सामान्य सोधपुछदेखि एनटीसी सेवाका ६ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नेछन् । रोबोटको नाम ‘मैना’ राखिएको छ ।

रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए । विदेशीलाई समेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *