उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै दलहरू
काठमाडौँ। मंसिर १६ गते हुने उपचुनावका लागि दलहरु उम्मेदवारको अन्तिम टुङ्गो लगाउन थालेका छन्। सत्तारुढ नेकपा (एमाले) ले सबैजसो उम्मेदवारको टुङ्गो लगाएको जनाएको छ।
अर्को सत्तारुढ दल नेपाली कांग्रेस, प्रतिपक्षी दलहरु माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले भने अन्तिम टुंगा लगाइसकेका छैनन्। उनीहरुले केही पदमा मात्र उम्मेदवार चयन गरेका छन्।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिक्त रहेका ४४ मध्ये ४२ पदमा उम्मेदवारको टुङ्गो लागेको बताएका छन्। बाँकी दुई पदका लागि शनिबार निर्णय हुने कांग्रेसले जनाएको छ। काठमाडौँको कीर्तिपुर नगरपालिकामा मेयर र एक वडाध्यक्ष पदका लागि कांग्रेसले उम्मेदवार टुंगो लगाउन बाँकी छ। कांग्रेसबाट मेयरमा जितेका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपचुनाव हुन लागेको हो।
माओवादीले कीर्तिपुरको मेयरमा प्रा. डा. शिवशरण महर्जन, एमालेले डा. सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार सिफारिस गरिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुंगो लगाइसकेको छैन।
उपचुनावका लागि भोलि आइतबार उम्मेदवारी दर्ता हुँदैछ। ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
निर्वाचन आयोगका अनुसार मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिकाको अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष ३५, नगरपालिकाको मेयर र उपप्रमुख एकरएक गरी ४४ पदमा उपचुनाव हुनेछ।
उपचुनावका लागि ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ।
