युएईलाई हराउँदै नेपाल यु-१९ विश्वकपमा छनोट
काठमाडौं। युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल यु १९ विश्वकपमा छनोट भएको छ। बुधबार भएको खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको हो।
नेपालले ६ खेलबाट १० अंक जोड्यो। युएईले पनि समान खेलबाट समान अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो। नेपालले अब सन् २०२५ को जानवरीमा मलेसियामा आयोजना हुने यु–१९ महिला विश्वकप खेल्नेछ ।
यूएईले दिएकाे ८४ रनकाे लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायाे । नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, साेनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।
यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायाे । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् । नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।
चार वटा देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले ६ खेलमा १० अङ्क जोड्यो । यूएईको पनि ६ खेलमा १० अङ्क भए पनि नेट रन रेटका आधारमा दोस्रो भयो । यस्तै थाइल्यान्ड ६ खेलमा ४ अङ्कसहित तेस्रो र कुवेत ६ वटै खेल हारेर पुछारमा रह्यो ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रन र पाँचौं खेलमा कुवेतलाई १ सय ६५ रनले हराएको थियो ।
