मोरङको उमागौरी सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी
विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थामा भएको ठगीका बारेमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । यस क्रममा धनपालथान गाउँपालिका-४ कर्सिया बजारमा रहेको उक्त सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध प्रहरीले पक्राउका लागि अनुमति लिएको छ ।
उक्त सहकारीमा भएको ठगीबारे इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । त्यसैको अनुसन्धानका क्रममा संस्थाका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियारसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरु जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहकारीको लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव, सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले कारबाही सिफारिस गरेपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो ।
१० जना सञ्चालकविरुद्ध जिल्ला अदालत मोरङबाट सहकारीको बचत अपचलन मुद्दामा पक्राउ पुर्जी जारी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।
बचतकर्ताको रकम तथा ऋण अपचलन गरेको खुलेपछि सहकारीको कार्यालय बन्द छ । सञ्चालकलाई कार्यालय खोल्न आग्रह गर्दा अटेर गरेपछि कात्तिक १४ गते सटरको ताला फुटाएर कागजात जफत गरिएको जोशीले जानकारी दिए ।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
