नेपालले कुवेतलाई १०८ रनले हरायो
तस्बिरः क्यान
काठमाडौँ । आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले कुवेतलाई १ सय ८ रनको विशाल अन्तरले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर २२ रन मात्र बनाउन सक्यो ।
नेपालका रचना कुमारी चौधरी र सीमा केसीले दुई–दुई विकेट लिए । पूजा महतो, कृष्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले १–१ विकेट हात पारे । कुवेतका लागि जिफा जिलानीले १२ रन बनाउनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो । कप्तान पूजा महतोले सर्वाधिक ३४ रनको योगदान दिइन् । रनआउट हुनअघि उनले ३८ बलमा ४ चौका प्रहार भइन् । ओपनर साना प्रविनले १८ बलमा २५ रन जोडिन् । उनले आफ्नो इनिङ्समा ५ चौका प्रहार गरिन् ।
ज्योत्सनिका मरासिनीले मात्र १८ बलमा २३ रन जोडिन् । उनले १ चौका हिर्काइन् । अलिसा कुमारी यादवले १५ रन बनाइन् । उनले १० बलमा १ चौका प्रहार गरिन् । सावित्री धामी र सोनी पाख्रिनले ६–६ रन बनाए । सीमा केसीले ४ रन बनाइन् ।
कुवेतका लागि आयशा इक्बाल पेवेरले २ विकेट लिइन् । उनले ४ ओभरमा १७ रन मात्र खर्चिएकी थिइन् । अमिशा राम ओलाचेरी र जिफा जिलानीले १–१ विकेट हात पारिन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले हराएको थियो । पहिला ब्याटिङ गर्द नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । जवाफी ब्याटिङमा थाइल्याण्डले ११.४ ओभरमा सबै विकेट गुमाएर ३५ रन मात्र बनाउन सक्यो ।
