मानव तस्करी घटनामा जोडिएपछि कोशीका मन्त्रीद्वारा राजीनामा, ६ जना पक्राउ
विराटनगर । कोशी प्रदेशका मन्त्री जोडिएको मानव तस्करीको घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । कोशी सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जाँदा असम्बन्धित व्यक्तिलाई सँगै लगेर मानव तस्करी गरेको आरोप लिलाबल्लभ अधिकारीमाथि लागेको छ ।
उक्त आरोप लागेपछि बुधबार उनले मन्त्री पदबाट राजीनामा दिएका छन् । अधिकारीले नक्कली कागजात बाहकलाई सँगै लिएर जापान गएको खुलेको छ । प्रहरीले अधिकारीसँगै जापान गएका ३ जना सहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।
मन्त्रीसँगै जापान जानेहरूमा खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा छन् । कात्तिक १४ मा मन्त्री सहित उनीहरूलाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो ।
काठमाडौँ विमानस्थलमा ओर्लिएपछि ३ जनालाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाइएको थियो । मन्त्री अधिकारी विमानस्थलबाट बाहिरिएका थिए ।
जापानबाट आएकाहरूको बयानको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले थप ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर छन् ।
उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । आरोपीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर मुद्दा चलाउन पठाएको छ ।
