यु-१९ राष्ट्रिय क्रिकेट : मधेस र कर्णाली प्रदेश विजयी
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलमा कर्णाली र मधेस प्रदेश विजयी भएका छन् ।
मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कर्णालीले बागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णाली निर्धारित ५० ओभरको २० दशमलव ५ बलमा सबै विकेट गु्माउँदै ७५ रनमा सीमित भएको थियो ।
कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए । बागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३ दशमलव ५ बलमा २ मेडन राख्दै ६ रन मात्र बनाए । त्यस्तै, दयानन्द मण्डलले ३ विकेट र दीपक सेरलाले २ विकेट लिए ।
७६ रनको विजयी लक्ष्य पाएको बागमती १८ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ५५ रनमा सीमित हुन पुग्यो । बागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए । प्लेयर अफ दी म्याच कर्णालीका विपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चनराले समान ३–३ विकेट लिएका थिए ।
त्यस्तै, बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई १ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सबै विकेट गुमाई ७० रनको योगफल बनायो । लुम्बिनीका समीर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।
प्लेयर अफ दी म्याच मधेसका अभिशेख तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन बनाए । ७१ रनको लक्ष्य पाएको मधेसले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । मधेसका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्बिनीका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए ।
लिगको सबै खेल सम्पन्न हुँदा सुदूरपश्चिम ६ खेलमा ५ वटामा जित निकाल्दै र १ खेलमा पराजित हुँदै १० अंकका साथ पहिलो स्थानमा उक्लिएको छ । लुम्बिनी ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अंकका साथ ‘नेट रन रेट’मा पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।
त्यस्तै, गण्डकी ६ खेलमा ३ वटामा जित र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ तेस्रो स्थानमा छ । मधेस ६ खेलमा ३ वटामा जित र ३ मा पराजित हुँदै ६ अंकका साथ ‘नेट रन रेट’बाट पछि पर्दै चौथो स्थानमा छ ।
बागमती ६ खेलमा २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकका साथ पाँचौं स्थानमा, कर्णाली २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकका साथ छैटौं र कोशी १ मा जित र ५ खेलमा पराजित हुँदै २ अंकका साथ पुछारमा रहेको छ ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुने भएको छ । फाइनलमा उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा गर्नेछन् । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।
