हङकङ सिक्सेस क्रिकेटमा इङ्ल्याण्डसँग भिड्दै नेपाल
काठमाडौँ । २०औं द हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले इङ्ल्यान्डसँग खेल्दैछ । खेल मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार आज बिहान हुँदैछ ।
तीन पटकको च्याम्पियन इङ्ल्यान्डसँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो । इङ्ल्यान्डको कप्तानी अलराउन्डर रवि भोपाराले गरेका छन् । नेपाली टोली सन्दीप जोराको कप्तानीमा रहेको छ ।
प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलिया र इङ्ल्यान्डसँग छन् । नेपालको दोस्रो खेल अस्ट्रेलियासँग छ । प्रतियोगितामा १२ टोलीको सहभागीता छ । सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘बी’ मा नेपाल, इङ्ल्याण्ड र अस्ट्रेलिया छन् । समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’ मा श्रीलङ्का, बङ्गलादेश र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ ।
