दीपेन्द्रको अर्को सन्देशमूलक गीत ‘सपना सजाइ’
विराटनगर । सर्जक दीपेन्द्र अधिकारीले आफ्नो सिर्जनालाई निरन्तरता दिने क्रममा नयाँ गीत ल्याएका छन् । ‘सपना सजाइ’ बोलको उनको गीत डिए क्रिएसन्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
अवसरको खोजीमा विदेशिएका लाखौं नेपालीको भावनाको प्रतिनिधित्व गर्ने खालको गीतको सन्देश छ । स्वदेशमै अवसरको खोजी गरौं भन्ने सामाजिक सन्देश गीतले दिन खोजेको छ । यसअघि पनि सर्जक अधिकारीले विभिन्न सामाजिक सन्देशमूलक गीतहरु सार्वजनिक गरिसकेका छन् ।
प्रथम भ्वाइस अफ नेपालका विजेता चर्चित गायक सिडी बिजय अधिकारीको स्वर र संगीतमा गीत बनेको छ । गीतको म्युजिक भिडियो पनि आकर्षक बनाइएको छ । नेपाल र विदेशमा पनि छायांकन गरी तयार पारिएको अधिकारीले बताए । म्युजिक भिडियोमा दिपेन्द्रराज गिरी, सदिक्षा पाण्डेले अभिनय गरेका छन् ।
गीत सिर्जनाबारे सर्जक अधिकारी यसो भन्छन्–
गरिब मुलुकका युवाहरू सम्पन्न मुलुकमा रोजगार र अवसरको खोजी गर्दै परदेशिनु पर्ने बाध्यता गर्नु पर्ने अवस्था छ । आफू, परिवार सुखी र खुसी बनाउने सपना लिएर जहाज चढेकाहरू सबै सफल छन्, खुसी छन् भने हैन । धेरै छौं परदेशमा भाषाको अभावमा दुःख पाएकाहरू, आत्मसम्मान गुमाएर, अपमान सहेर काम गरेकाहरू ।
अनि आफ्नै नेपालीबाट ठगिएकाहरू, लुटिएकाहरू पनि छौं । ऋण, भार, दुःखपीडा सहन नसकी आत्महत्या रोज्नेहरू पनि छौ । रोज्न नमिल्ने जस्तो पनि काम गर्नु पर्ने अवस्थामा जोखिम उठाएरै काम गर्दा कहिलेकाहीँ अकस्मात घटना, दुर्घटनामा परी मृत्यसँग सम्झौता गरेका कथा ब्यथाहरू पनि थुप्रै नेपालीको छ । संसारभर रहनु भएका नेपालीको मनका भावनाहरू, विवशताहरू, मृत आत्माका तरङ्गहरू, पीडित परिवारका आँशुहरूको प्रतिनिधित्व गर्ने गरी म्यूजिक भिडियो ल्याएका हौ ।
न देश छोडेर नजाउ भन्न सकिन्छ, न त प्रतिबन्ध नै लगाउन सकिन्छ, किनभने मानिस आफैंमा एक स्वतन्त्र प्राणी हो । तर पनि लामबद्ध बनेर परदेश जाने जुन लहर चलेको छ देशमा यो बिलकुल गलत हो । अप्राकृतिक पनि हो । देशमै धेरैभन्दा धेरैका पाइला अडिने वातावरण बनाउन जरूरी छ ।
यसमा प्रमुख दायित्व राज्यको अनि सबै राजनीतिक पार्टीहरू, नेताहरूले निर्वाह गर्नै पर्छ । विभिन्न बहानामा देश अस्थिर बनाई राख्दा झनझन बढी युवाहरू देश बाहिरिने सम्भावना बढ्छ । हाम्रा धेरै आमा बाबा पियारी, छोरा, छोरीहरूका आखामा आँशु झर्छन् । आफ्नै मातृभूमि प्यारो हो । यहीँ अवसरको खोजी गरौं भन्ने सामाजिक सन्देश यो गीतले दिन खोजेको छ ।
