देवकोटालाई सम्झिएर सविताका १८ कविता
विराटनगर । तिहारको रमझमका बीच विराटनगरको देवकोटा पुस्तकालयमा बुधबार कवितामय वातावरण बन्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती तथा उनकै सम्मानमा स्थापित देवकोटा पुस्तकालयको ६६औँ वार्षिकोत्सव अवसरमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा उल्लेख्य सर्जक तथा कविताप्रेमी उपस्थित थिए । उनीहरुमध्ये केहीले सविता गौतम दाहालका चुनिएका कविता सुनाए । स्वयं सविताले पनि आफ्नो सिर्जना सुनाइन् ।
प्रमुख अतिथिका रुपमा सहभागी प्राज्ञ विवश पोखरेलले सविताको ‘चित्र यो देश प्रेमको’ कविता सुनाएर कार्यक्रमको सुरुआत गरे । त्यसपछि कार्यक्रमकी मुख्य पात्र सविताकाबारे सर्जक शुभलक्ष्मी लम्सालले संक्षिप्त परिचय गराइन् ।
पुस्तकालयका अध्यक्ष सुबोध निरौलाको सभापतित्वमा भएको कार्यक्रममा त्यसपछि विभिन्न स्रष्टाहरुले सविताका कविता एकपछि अर्को गर्दै प्रस्तुत गरे ।
कवि सविताले ‘यो सहर कस्को हो ?’, ‘मैले मन पराएको गाउँ’, ‘हरियो साम्राज्य’, ‘सम्झनाको पेगोडामा कृष्णभूषण दाइ’ ‘तस्बिर र जीवन’ शीर्षकका कविता सुनाइन् । त्यसपछि सर्जक सुमन पोखरेलले ‘म एउटा जीवन स्वतन्त्र चाहन्छु’, सुनाए ।

यसैगरी, मञ्जुश्री गिरीले ‘चौबीस क्यारेट’, ‘ कविता सुनाइन् । युवा सर्जक धीरज राईले ‘अस्पतालबाट’, सीमा आभासले ‘हरेक हरफको मूल्य चुकाइएको छ’ शीर्षकका कविता सुनाए ।
अर्का सर्जक रमेशचन्द्र अधिकारीले ‘परदेशी मायालु’, ‘ शीर्षकका कविता सुनाए । छात्रावासमा छोरी’, ‘शाब्दिक तरङ्गका पिरामिडहरु’, ‘अनन्त उडान’, ‘साथी म आउँछु’ र ‘म लगातार हिँडिरहेछु’ सुनाएर कविले एकल वाचन पुरा गरिन्।

एकै कविका सिर्जना भए पनि फरक फरक स्रष्टाले आफ्नै मौलिक पारामा कविता सुनाउँदा स्रोताहरु मन्त्रमुग्ध भएका थिए । देवकोटा जन्मजयन्ती अवसरमा पुस्तकालयले कात्तिक १३ देखि १५ गतेसम्म विभिन्न कार्यक्रम तय गरेअनुसार सविताको एकल कविता वाचन पनि समेटिएको हो ।
यसअघि मंगलबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । बिहीबार लक्ष्मीपूजाका दिन प्रभातफेरी आयोजना हुँदैछ । यसैगरी, महाकविको तस्बिरसज्जित रथका साथ शोभायात्रा पनि आयोजना गरिँदैछ । यस्तै, महाकविको सालिकमा माल्र्यापण तथा उनको योगदानबारे सर्जकहरुबीच चर्चा परिचर्चा पनि गरिने भएको कार्यक्रम संयोजक श्रीजन आचार्य (मुकेश) ले जानकारी दिए ।




