‘सरकारले चलाउने नसके सिंहदरबार वैद्यखाना हामीलाई दिनुस्’
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गरेका छन् ।
सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बुधबार बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्याउन सकिने साहको भनाइ छ ।
मेयर साहले देश किन डुब्यो भन्ने कुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने टिप्पणी पनि गरे । सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको उनले उल्लेख गरे ।
लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको साहले बताए । ०५८–५९ सालमा ५ करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट १ करोड पनि नरहेको उनले बताए ।
