सुकुना क्याम्पसलाई गुणस्तर प्रमाणपत्र

विराटनगर । मोरङको सुन्दर हरैँचास्थित प्रतिष्ठित क्याम्पस सुकुना बहुमुखी क्याम्पस दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायान (क्युएए–गुणस्तरको प्रमाणपत्र) प्राप्त गर्न सफल भएको छ ।

सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालका अनुसार विश्वविद्यालय अनुदान आयोग नेपाल, सानोठिमी, भक्तपुरको सभाकक्षमा आयोजित कार्यक्रममा सुकुना क्याम्पस र ग्लोवल इन्टरनेसनल कलेजलाई क्युएए प्रदान गरिएको हो ।

प्रमाणपत्र वितरण कार्यक्रममा आयोगकी क्युएए डाइरेक्टर प्रा. डा. रेजिना मास्केले स्वअध्ययन भ्रमणको अनुभव र दुबै क्याम्पसका प्रतिवेदनको सारांश प्रस्तुत गरेकी थिइन् ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका क्युएए डाइरेक्टर डा. प्रेम थापा र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब गौतमले गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल दुबै क्याम्पसलाई बधाई ज्ञापन गरेका थिए ।

सुकुना क्याम्पसको स्वअध्ययन टोलीका प्रमुख एवं त्रिविका पूर्वउपकुलपति प्रा. डा. तीर्थराज खनियाँले सुकुना क्याम्पसमा पहिलो पटक तीन दिन र दोस्रो पटक पाँच दिन स्थलगत अध्ययन भ्रमण गर्दाका अनुभवहरू प्रस्तुत गर्दै क्याम्पसले गुणस्तर कायम गर्नका लागि गरेका प्रयासबाट आफू पूर्ण सन्तुष्ट भएको बताए ।

यसरी नै प्रयास गर्ने हो भने सुकुना छिट्टै ‘डिम्ड युनिभर्सिटी’ हुनेमा उनले विश्वास प्रकट गरे । आफूले धेरै पटक सुकुना क्याम्पसको भ्रमण गरेको र भ्रमणका क्रममा सुकुनाले तीब्र विकास गरेको भन्दै प्रा. डा. मनप्रसाद वाग्लेले बधाई ज्ञापन गरे ।

सुकुना क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले आगामी दिनमा क्याम्पसले अझै नवप्रवर्तन गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने, गुणस्तरमा बढोत्तरी गर्ने, अटोनोमिका कार्यक्रम सञ्चालन गर्ने बताए ।

समारोहको सभापतिका रुपमा रहेका अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले सुकुना क्याम्पसका सबै गतिविधिबाट आयोग सन्तुष्ट भएकोमा क्याम्पसलाई बधाई दिँदै अरु क्याम्पसहरू पनि सुकुना जस्तै हुनुपर्नेमा जोड दिए ।

सुकुना बहुमुखी क्याम्पसको तर्फबाट अध्यक्ष केशव अधिकारी, उपाध्यक्ष अर्जुनराज अधिकारी, संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईं, लेखा समितिका संयोजक चन्द्रप्रसाद फुँयल, सञ्चलक समितिका सदस्यहरू क्रमशस् हेमचन्द्र घिमिरे एवं नेत्रप्रसाद ढकाल, नगर उपप्रमुख अकली चौधरी, सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहाल, स्वमूल्याङ्कन टोलीका संयोजक तथा सदस्यहरू क्रमशस् नरप्रसाद भण्डारी, नवराज कोइराला, सूर्यप्रसाद अधिकारी, प्राध्यापक सङ्घका सभापति जनार्दन गुरागाईँ, शिक्षकहरू क्रमशस् सुकदल लिम्बू, कान्ता सुवेदी, उषाकिरण वाग्ले लगायतका प्रतिनिधिहरू र लेखाफाँट प्रमुख युवराज सुवेदीले संयुक्तरूपमा प्रमाणपत्र ग्रहण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *