चार वर्षीया छोरीलाई बन्धक बनाएर मार्ने धम्की दिने पक्राउ
विराटनगर । तीन दिनदेखि बन्धक बनाइएकी विराटनगरकी एक चार वर्षीय बालिकाको प्रहरीले उद्धार गरेको छ । विराटनगर–९ भानुटोलका ३२ वर्षीय सुनिल सहनीले केही पनि खान नदिई घरमै बन्धक बनाएको प्रहरीले जनाएको छ।
मंगलबारदेखि बन्धक बनाइएकी बालिकाको शुक्रबार साँझ सकुशल उद्धार गरिएको हो । छोरीलाई लिएर घरको कोठाभित्र बसेका सुनीलले कसैलाई प्रवेश नगर्न भन्दै प्रवेश गरे छोरीलाई मारिदिने भन्दै धम्की दिएका थिए ।
उनको हातमा चक्कु पनि रहेको पमोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । सहनीलाई फकाएर ढोकाको माथि पट्टिको खाली ठाउँबाट छोरीलाई निकाल्न सफल भएको उनले बताए । नाबालिकालाई हजुरआमाको जिम्मा लगाइएको छ ।
सुनिलकी श्रीमती केही समयदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । उनले किन छोरीलाई बन्धक बनाएका हुन् भन्ने विषय खुल्न नसकेको उल्लेख गर्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
