झापाको मेचीनगरमा रहेको आयल निगमको जग्गा हडप्ने प्रयास
झापा । झापाको मेचीनगरमा रहेको नेपाल आयल निगमको दुई बिघा जग्गा हडप्ने प्रयास गरिएको छ । यसअघि निगमलाई जग्गा बेच्ने व्यक्तिले नै हडप्ने प्रयास गरेको पाइएको छ ।
निगमले इन्धन भण्डारण विस्तारका लागि ७ वर्षअघि उक्त जग्गा किनेको थियो । निगमले ०७४ मा मेचीनगर नगरपालिका–१३ मा २३ बिघा ३ कट्ठा १३ धुर जग्गा किनेको थियो ।
उक्त जग्गामध्ये स्थानीय छत्रबहादुर कार्की र रिता कार्कीले २ बिघा जग्गा हडप्ने प्रयास गरेको पाइएको छ । खरिद गरिएको जग्गाको लालपुर्जा भए पनि फिल्डमा दुई बिघा कम भेटिएको थियो । त्यसपछि निगमको जग्गा संरक्षण तथा यकिन गर्न उपनिर्देशक प्रदीपकुमार यादवको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति गठन भएको थियो ।
समितिको पहलपछि नापीको टोलीले फागुन ३० मा जग्गा नापजाँच गरी पुर्जाअनुसारकै जग्गा फिल्डमा पुर्याइदिने काम गरेको थियो । नापीले अपुग भनेर निगमको स्वामित्वमा ल्याइएको २ बिघा छत्रबहादुर कार्की र रिता कार्कीले निगमलाई बिक्री गरेको जग्गा भएको नापी कार्यालयले जनाएको छ ।
‘डिजिटल नक्साको प्रिन्ट नक्साअनुसार नापजाँच गर्दा ढुवागढी–३ को कित्ता नम्बर १२६६ को पश्चिम दिशातर्फ ११६ फिटसम्म, सोही कित्ता नम्बर १२६६ को पूर्व दिशातर्फ ११० फिटसम्म ओभरल्याप रहेको देखिन्छ,’ नापी कार्यालय, झापाले बनाएको प्रतिवेदनमा भनिएको छ, ‘कित्ता नम्बर १२६५ को पूर्वमा उत्तरतर्फ ११० फिटसम्म जग्गा ओभरल्याप भएको देखिन्छ ।’
नापीले जग्गा प्रमाणित गरेपछि निगमले तारबार लगाउन सुरु गरेको थियो । जिल्ला प्रशासन, नापी कार्यालय र स्थानीय जनप्रतिनिधिको रोहबरमा लालपुर्जाअनुसारको जग्गा संरक्षण गर्न थालेपछि छत्रबहादुर र रिता कार्कीले हकदाबी गर्दै मुद्दा दायर गरेका थिए ।
निगमले ०७४ मा २३ बिघा ३ कट्टा १३ धुर किनेको थियो । खरिद भएको दुई जनाको संयुक्त कित्ताको ८ बिघामध्ये ५ बिघा किनेको थियो । तर निगमले आफ्नो जग्गा नापचाँज गर्दा ३ बिघा मात्रै पाएको थियो । त्यसपछि विवाद उत्पन्न भएको हो ।
