महिला स्वास्थ्य स्वयंसेविकालाई अब यातायात निःशुल्क

काठमाडौँ । महिला स्वास्थ्य स्वयंसेविकाहरुले कामका लागि निःशुल्क सार्वजनिक यातायात सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयमा उक्त समझदारी भएको हो । यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहमतिपछि यससम्बन्धी समझदारी भएको हो ।

कात्तिक १५ गतेदेखि सुविधा लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले सहमति जनाएका हुन् ।

मन्त्री पौडेलले न्यून सुविधामा आम मातृशिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै यो निर्णय महत्वपूर्ण रहेको बताए ।

महिला स्वास्थ्य स्वयंसेविकाको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले निकै महत्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासङ्घप्रति आभार प्रकट गरिन् । देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *