विराटनगरको माछापुछ्रे सहकारीका सञ्चालक र ऋणीसहित १०९ विरुद्ध मुद्दा

विराटनगर । विराटनगरमा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना आरोपमा सहकारीका सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको वर्तमान अध्यक्ष अमलेश कर्णसहित उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, कोषध्यक्ष सोमी भगत, सञ्चालक प्रभाकर थापासहित १०९ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम हिनामिना गरेकामा मुद्दा दायर गरेको हो । यसअघि प्रहरीले अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो ।

प्रतिवादी बनाइएकामध्ये २१ जना सहकारीका वर्तमान र पूर्वसञ्चालक हुन् भने अन्य व्यक्ति ऋणी हुन् । २०६८ सालयताका सहकारीका पदाधिकारी तथा सदस्यलाई प्रतिवादी बनाइएको मुद्दामा अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन् । अन्य फरार छन् ।

प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना भएको पाइएको थियो । प्रहरी अनुसन्धानका क्रममा भने ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखिएको छ ।

प्रहरीमा १०३ जना बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको मागसहित निवेदन दिएका छन् ।

अदालतमा दायर भएको अभियोग पत्रमा सहकारी संस्थाले १८३ जनालाई ६ करोड ३४ लाख ७६ हजार २२६ रुपैयाँ ऋण लगानी गरेको उल्लेख गरिएको छ ।

सहकारीका ऋण नतिरेका कारण ऋणीलाई प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका संस्थाका अध्यक्ष कर्णले पनि संस्थाका पदाधिकारी तथा सदस्य प्रभाकर थापा, अमित कार्की, उत्तम ढुंगेल, श्याम कोइराला, सरु भण्डारी, गोपाल ढकाल, दिलिपकुमार साह, राधादेवी लिम्बु, गोकुल थापा (पूर्वउपाध्यक्ष(, ईन्द्रेश कर्ण (पूर्वसञ्चालक) नियमविपरित ऋण लिएको बयान दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *