रातो माटो, ढिकीको चिउरा अनि श्रद्धाको दक्षिणा
दसैँको मुख्य दिन आउन अब केही दिनमात्र बाँकी छ । घटस्थापनादेखि सुरु भएको दसैँको अहिले नवरात्र जारी छ । यो बेला नवदुर्गा भवानीको पूजा अर्चना भइरहेको छ । दसैँका लागि टाढा टाढाबाट मानिसहरू मूल घरमा भेला हुने क्रम जारी छ ।
घरमा लिपपोत, घर, गाउँ सरसफाइ, आफन्तहरूको आगमन, सफा हुँदै गएको मौसम अनि सुरु हुन थालेको चहलपहलले दसैँ आगमनको स्पष्ट सङ्केत दिन्छ । मालश्रीको धुन बज्न थालपछि त झन् दसैँले ढोका ढक्ढक्याएको जस्तै लाग्छ ।
दसैँ मनाउने र यो बेला हुने उल्लास समय क्रममा परिवर्तन हुँदै जाँदो रहेछ । बुढापाकाको अनुभव सुन्ने हो भने अचम्म पनि लाग्छ । हाम्रै बेलाको दसैँ पनि अचेलको भन्दा धेरै नै फरक र मौलिक अनुभव हुन्छ । दसैँ आगमनको सन्दर्भमा पुराना दिन सम्झिएर यहाँ संक्षिप्त चर्चा गर्ने प्रयास गरेको छु ।
अचेलको भन्दा पहिलेको दसैँ विभिन्न कारणले फरक विशेषतायुक्त हुन्थ्यो । रातो माटो खन्न रातमाटे मड्क्याना डाँडामा सबैजना सल्लाह गरेर गइन्थ्यो। मड्क्याना डाँडाबाट गाउँका सबैजसो घरको आँगन देखिन्थ्यो । माटो खनेपछि थाकेर हैरान । त्यो बेला ककसले घर पोतेछ भनेर डाँडाबाटै नियाल्दा सबै थकाई मर्थ्यो ।
रातो माटो डोकाभरि सेउलाले छोपेर खुइय…खुइय..गर्दै ल्याइन्थ्यो । अर्काे दिन पानी चुहाउँदै कमेरो ल्याइन्थ्यो । गाउँ घरमा मोटर गाडी आउँदैन थियो । कोदालो बोकेर सबै गोरेटो बाटोहरू चिल्लो बनाएर खनिन्थ्यो ।
गाउँभरि घरैपिच्छे ढिकीजाँतो थियो । दिनभर रातो माटो, कमेरो, दाउरा, घाँस जुटाउँदै बित्थ्यो । रातभर दसैँलाई साँचेर राखेको धान ढिकीमा कुटेर चामल बनाइन्थ्यो ।
लामो लामो जातको लुकाएर राखेको धान हल्का बफ्याएर एकरात भिजाएर पानी तर्याएर कालो हाँडीमा बाँसको कप्टेराले भुटेर ढिकीको ओखलमा एकपटकमा २–३ अञ्जुली हाल्दै रातभर चिउरा कुटिन्थ्यो । अनि पाथी पाथी बनाइन्थ्यो ।
घटस्थापनामा जमरा राखेर नौ दिन नवदुर्गा भवानीको पूजापाठ घरघरमा लगाइन्थ्यो । शंख घण्टको आवाजले नकारात्मक ऊर्जा नाश भएर सबैमा नव दुर्गा भवानीको शक्तिले हर्ष, खुसी छाएर उल्लासमय वातावरण बन्थ्यो । नवरात्रको सप्तमी, अष्टमीमा बाबियोको लठ्ठा बाटेर लिङ्गे पिङ हालिन्थ्यो । सबै टीका जमरा थापेर भेला भएपछि पिङ खेलेर रमाउँथे ।
मान्यजनले निष्ठा आचरणमा ब्रत बसेर नवदुर्गा माताको पूजापाठ अनि साधना गरेर लगाइदिएको टीका प्रसाद, जमराले साँच्चिकै रोग दुःख कष्ट नाश हुन्थ्यो भन्ने विश्वास दह्रो थियो । उबेला हत्तपत्त रोग लाग्दैन थियो ।
श्रद्धा, माया, प्रेम र सम्मानले दिएको दक्षिणाले महालक्ष्मीको अपार कृपा मिल्थ्यो । त्यो दक्षिणा राखेर कोजाग्रत पूर्णिमाको रात दियो बालेर महालक्ष्मीको पूजा आराधना गरी दसैँ सकिन्थ्यो ।
यस्तो दसैँ पो दसैँ हुन्थ्यो त !

त्यो बेलाको दशैंको रौनक नै बेग्लै थियो नि,,,,खैर बद्लिंदो समयलाई नि स्वीकार्नु पर्छ नै।।