हत्यापछि भान्सामा गाडिएको शव झिकेर खोला किनारमा

झापा । चार महिनाअघि हत्या गरेर बिरिङ खोलाको किनारमा गाडेको शवको अवशेष प्रहरीले उत्खनन गरी निकालेको छ । बाह्रदशी गाउँपालिका–५ फूलबारीका २२ वर्षीय राजेश ठाकुरको शवको अवषेश निकालिएको हो । उनी जेठ १५ गतेदेखि बेपत्ता थिए ।

झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार ठाउँ पहिचान गरी उत्खनन गरेर कंकाल निकालिएको हो । उत्खनन गर्न चार दिन लागेको थियो । प्रहरीले शंका लागेर सुरुमा राजेशका छिमेकी गणेश राजवंशीको आँगन र भान्सा कोठामा खनेर खोजी गरेको थियो ।

ती स्थानमा नभेटिएपछि बिरिङ खोला किनारमा खोजी गरिएको हो । राजेशको हत्यापछि आरोपित गणेश वैदेशिक रोजगारीका लागि दुबई गएको अनुसन्धानबाट खुलेको छ ।

कंकालसँगै भेटिएको कपडाको आधारमा राजेशको सनाखत भएको हो । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । त्यहाँ डीएनए र अन्य परीक्षण गरिने भएको छ ।

प्रहरीका अनुसार चक्कु प्रहार गरेर हत्या गरेपछि सुरुमा गणेशको घरको भान्सा कोठामा शव गाडिएको थियो । त्यहाँ गाड्दा पत्ता लाग्न सक्ने अनुमान गरी पछि खोला किरानमा गाडिएको प्रहरीको भनाइ छ ।

राजेश बेपत्ता भएपछि खोजी गर्न अनुरोध गर्दै उनका बुवा भीम ठाकुरले जेठ १८ गते इलाका प्रहरी बिर्तामोडमा निवेदन दिएका थिए । त्यसपछि अनुसन्धान गर्दा प्रहरीले राजेशको हत्या भएको निष्कर्ष निकालेको हो । शव भने फेला परेको थिएन ।

हत्यापछि दुबई पुगेका गणेशलाई झिकाउन पहल भइरहेको एसपी केसीले बताए । प्रहरीले घटनामा संलग्न भएको आशंकामा २० वर्षीया मुना मेचे (राजवंशी), उनका जेठाजु ३१ वर्षीय समीर राजवंशी, मुनाका १६ वर्षीय भतिज र स्थानीय २१ वर्षीय आशिष थापालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *