विपत्तिमा दुखेको देशलाई यसरी मलम लगाऔं

प्रकृतिमाथि अतिक्रमणको परिणाम भयानक हुन्छ । धेरथोर होला तर जुनसुकै देश वा क्षेत्र होस् उस्तै हो । आफ्नै कारणले हुने विनाशबाट मानिसलाई जोगिन धौधौ परिरहेको उदाहरण संसारभरि छ ।

सैद्धान्तिक रूपमा यो कुरा सायद धेरैलाई थाहा छ । यसो हुँदाहुँदै पनि पूर्वतयारी गतिलो नहुँदा विपत हरेक वर्ष दोहोरिरहेको छ । आपत पर्दा आत्तिएर अनेक योजना बनाउने अनि अलि मत्थर भएपछि बिर्सने बानीले झन् समस्यामा पार्दै आएको छ ।

प्रकोप रोक्न पूर्वतयारी, उद्धार, राहतजस्ता पक्ष महत्वपूर्ण हुन्छन् । सबैले आफ्नो ठाउँबाट सकेको गर्नुपर्छ । मैले पनि आवश्यक परेका स्थानमा गच्छेअनुसार आर्थिक सहयोग गर्दै आएको छु ।

जलवायु परिवर्तनको व्यापक असर हाम्रो हिमाली देशमा पर्दैछ भन्ने विज्ञहरूको भनाई बारम्बार आइरहन्छ । तिनै आधारमा मैले अनुभव समेत समेटेर लेख्दै आएको छु । यही मेसोमा यसपटक पनि केही सुझावहरू सहित यो सामग्री तयार गर्ने प्रयत्न गरेको छु ।

प्राकृतिक प्रकोप आइसकेपछि जिम्मेवार व्यक्तिहरूले कस्सिएर लागिपर्ने हो । यस्तो अवस्थामा सरकारलाई सहयोग गर्ने जिम्मेवारी नागरिकको पनि हो । गाली गरेर, अवसर ढुकेर बस्ने होइन । तत्कालका लागि उद्धार र राहतको काममा ध्यान दिनुपर्छ अनि अवस्था सामान्य बन्दै गएपछि कमी कमजोरी औंल्याएर भोलि के कुरामा सुधार गर्नु पर्ने हो भन्ने यकिन गर्नुपर्छ ।

विपद्ले ढोका ढक्ढक्याएपछि मात्र आत्तिने अर्थात् ‘जब हुन्छ राति तब बूढी ताती’ जस्तो गर्नु पटक्कै हुँदैन ।

हाम्रो विकासको प्रमुख आधार र स्रोत भनेकै पञ्चतत्त्वको भरपूर मात्रामा सदुपयोग गर्नु हो । यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ, कसरी ऊर्जाका रुपमा परिमार्जन र प्रयोग गर्न सकिन्छ भन्ने पनि अर्को महत्वपूर्ण पाटो हो ।

प्राकृतिक स्रोतहरूलाई जीवनोपयोगी कसरी बनाउने भन्ने त मुख्य कुरा भइहाल्यो । यी सबै कुरा गर्नलाई जरुरी कुरा हो– शिक्षा अनि सही जानकारी । त्यसैले पहिलो प्राथमिकता भनेको पञ्चतत्त्वको आधारमा दिइने बलियो शिक्षा प्रणाली हो । एउटै व्यक्ति हरेक कुरामा एकैचोछि पोख्त बन्न सक्दैन । आ-आफ्ना रूचि अनुसारको, भूगोल अनुसारको व्यावहारिक शिक्षा प्रणालीमा जोड दिनैपर्छ ।

यो आधारमा दक्ष जनशक्ति उत्पादन गर्न सकिए त्यसैबाट राज्यको नीति निर्माण गर्ने सही राजनीतिज्ञ तयार हुन्छन् । देशमा पूर्वाधार स्थापना र ऊर्जा उत्पादन गर्न सक्ने इन्जिनियर उत्पादन हुन्छन् ।

चेतनास्तर विकास हुँदा सुस्वास्थ्य रहनसहन, उपयुक्त खाद्य उत्पादन गर्न सक्ने किसानहरूको बृद्धि हुन्छ । विभिन्न दुर्घटना, रोग बिमारबाट उपचार गराएर छुटकारा दिलाइदिने डाक्टरहरू उत्पादन हुन्छन् । लत्ताकपडा आदि अत्यावश्यक भौतिक सामग्री तयार गर्ने सक्ने सीपमूलक दक्ष जनशक्ति उत्पादन हुन्छ ।

व्यवसाय ब्यवस्थापन गर्ने, अर्थको विकास अर्थ बिनिमय, अर्थ आर्जन गर्दै नयाँ नयाँ विकासमा लगानी गर्दै जान सक्ने व्यापारीहरूको जनशक्ति उत्पादन हुन्छ । यी सबै कुराको मूल स्रोत भनेकै शिक्षा हो ।

मानव इतिहास ढुङ्गे युगबाट यहाँसम्म आइपुग्नु शिक्षाकै योगदान हो तर दुःखका साथ भन्नु पर्छ, कतै चरम विकास, चेतमा हुनु अनि कतै न्यून विकास हुनु, चेतना कम हुनु, शिक्षा सबैतिर एकनासले नभएको प्रमाण हो । होला– डाक्टर छन्, इन्जिनियर छन्, वकिल छन्, शिक्षक छन्, सबै छन् । शिक्षित पनि छन् तर के हुन सक्यो ?

चेतनाको अभावले गर्दा आफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारी पूर्ण पालना नगरेको पाइन्छ । जिम्मेवारीबाट पन्छिने प्रवृत्ति हाबी हुँदै आएको छ । सबैको हकमा यो लागू नहोला तर अधिकांश यस्तै छन् । यो पुष्टि गर्न एकदुई होइन सयौं उदाहरण छन् ।

खराब प्रवृत्तिका मानिसहरु भ्रष्टाचारमा लिप्त छन् । तिनकै कारण राजनीतिक दल, राज्य संयन्त्रका विभिन्न अंग, कर्मचारीतन्त्र सबै बदनाम भइरहेका छन् । सबै खालका समस्या र विकासको अवरोधको कारक पनि यही हो । यसबाट देशलाई छुटकारा दिलाउन सक्नु राजनीतिको पहिलो उद्देश्य हुनै पर्छ ।

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको लगानी व्यावसायिक हिसाबले मात्र होइन, राज्यको दायित्व हो भन्ने मनन गरी सबै नागरिकलाई शिक्षा स्वास्थ्यमा पहुँच पुर्याउने योजना बनाउनु पर्दछ । नागरिकका लागि शिक्षा मात्रले पनि पुग्दैन । राज्यले समानान्तर विकास र अवसर दुवै उपलब्ध गराउने प्रणालीमा जोड दिन पर्छ ।

सुरक्षित, समृद्ध देश बनाउन कसरी सकिन्छ ?

समस्यामात्र देखाउने, अरुलाई दोष मात्रै दिने, खुट्टा तानातान गर्ने प्रवृत्तिले पनि गाँजेको छ । शक्तिको लागि लुछाचुँडी गर्ने कुराले पनि अन्ततः समाज र मुलुकलार्य नै हानि गरिरहेको छ । उहिले ऋषिमुनिहरूको युगमा पूर्वीय सभ्यता बलियो देखिए पनि आधुनिक कालमा दक्षिण एसिया कमजोर हुनु खुट्टा तानातानको प्रवृत्तिकै असर हो भन्दा फरक पर्दैन ।

आफ्नो क्षमताले अग्लो हुन नसकेपछि अरूलाई होचो पार्न मरिहत्ते गर्ने संगठित विरोधको शैली अत्यन्त घातक छ । सबै पार्टी, समुदायले बेलैमा चेत्नु जरूरी छ । हो, सबैको चाहना आफैँमा अधिकार आओस् भन्ने हुन सक्छ । यो अस्वाभाविक पनि होइन । तर यसका लागि सक्षम र योग्य हुनु आवश्यक हुन्छ ।

योग्यता प्रस्तुत गरेर स्वच्छ प्रतिस्पर्धाबाट जिम्मेवारी लिन सक्ने, लिन पाउने वातावरण किन तयार नगर्ने ? त्यो अवस्थामा जान एक कदम पछि  बसेर भए पनि  स्वच्छ प्रणाली विकास गरौँ अनि त्यसपछि भिडौँ न प्रतिस्पर्धामा । सानोतिनो निहुँ पायो कि सबैले घेरा हालिहाल्नु उपयुक्त हुँदैन । ‘जहाँ गाह्रो उहीँ बजिया साह्रो’ उखानलाई सार्थकता हुन नदिऔँ ।

सबै मिलेर घर बनाऔं, टोल समाज बनाऔं अनि संसार बनाऔं । यो सुन्दर पृथ्वी जोगाउन यसरी सोच्ने समय आएन र ? भोलिको पुस्तालाई समस्याग्रस्त पृथ्वी बुझाउने कि सुन्दर, स्वच्छ र सबै किसिमले सन्तुलित विश्व ? गम्भीर भएर सोचौं । सोचौं मात्र होइन यसका लागि ठोस काम गर्न अब ढिला नगरौं ।

अबको हाम्रो लडाइँ नेपाली नेपाली बीच होइन । मानिस मानिसबीच पनि होइन । हाम्रो साझा चुनौती हाम्रै कर्मको फलको दण्ड सजाय दिलाउने प्रकृति सँगको हो । हामीसँग नयाँनयाँ चुनौती थपिँदै आएका छन् । भोलि फेरि कस्तो नयाँ चुनौती थपिने हो हत्केलामा जीवन अटाएर हिँडेका छौं, हिँडिरहन पर्छ ।

प्राकृतिक स्रोतको सुझबुझपूर्ण सदुपयोगले हामीले आधुनिक जीवन पाएका छौं । बिस्तारै तिनीहरूको बेवास्ता गर्न थालेको खण्डमा बिनासको दुर्दशा पनि त हामी आफैँले भोग्ने हो । त्यसैले जान्न पर्ने कुरा भनेको पञ्चतत्वको अस्तित्वलाई नजोगाई चरम विकासको सम्भावनै छैन । प्राकृतिक निकास नदिए धेरैभन्दा धेरै मानवीय क्षति हामीले प्रत्येक वर्ष अझ बढी भोग्दै जानु पर्ने हुन्छ ।

नदी नालाहरूको आफ्नै बग्ने नियम हुन्छ । आफैँले बाटो तय गरेको हुन्छ । बर्खा, हिउँद, अकस्मातको मौसम परिवर्तन, नयाँ समस्या जलवायु परिवर्तनलाई पनि मध्यनजर गरेर भइरहेको खोला घटाउने जुन बानी परेको छ, त्यसबानीमा सुधारेर नदीको लागि ठाउँ छोडेर बस्ती बसाउने कानुन बनाउन पर्छ । नदीको बहावले दुवै किनारामा क्षति पुर्याएको हुन्छ । यस्ता ठाउँहरूमा महत्वपूर्ण बाटाघाटा भवन निर्माण पनि गर्न हुँदैन ।

बनाउनु नै छ भने सुरूबाटै आधार बलियो बनाएर नदीको लागि आवश्यक दूरी छोड्नुपर्छ । बजार स्थापना गर्नै छ भने पनि राजधानी जस्तो ठूलो जनघनत्व भएको ठाउँमा नदी व्यवस्थित र नियन्त्रण गर्नुपर्छ ।

कसरी नदी नियन्त्रण गर्ने त ?

नदीको किनाराको निकास चौडा छोडेर, उचाई बढाएर किनारमा ढुङ्गा आदिले छेक लगाउने, माथितिर ढुङ्गासँगै पक्की पर्खाल लगाएर किनारमा उचाइ दिने । नदीको स्वरूप सुन्दर बनोस् अनि ठूलो बाढी आउँदा पनि नदी नियन्त्रण हुन पनि सकोस् । बस्तीमा नदी सहजै नपसोस् ।

यसका साथै बजारमा ठूला ढल पानी निकासको पक्की सुरूङ्गको पनि निर्माण गर्न जरूरी छ । विकास एकै पटकमा सम्भव छैन तर योजनाबद्ध तरिकाले व्यवस्थित निर्माण गर्दै गरिए दस, बीस, तीस वर्षमा विकासले कायापलट गर्छ । प्रक्रिया नमिचे यस्तो विकास कुनै जादुको छडी होइन ।

हामीले धेरै देशको उदाहरण देख्न सक्छौं । हाम्रो विकास प्रणाली हिउँदमा बनाएको संरचना बर्खामा भत्किन्छ । सधैं एकै ठाउँमा प्रत्येक आर्थिक वर्षको बजेट पोखिरहेका हुन्छौं । न विकास, न बचत हातमा आयो शून्यको विकास नीति छ । यसको अर्थ विकासै नभएको भन्ने होइन ।

सुरूङ्ग मार्गको युगमा पसिसक्यौं । स्काई हाइवे, पक्की पुल, चौडा लेनका बाटाहरूको सुंरचनामा बिगत ८-० वर्षदेखि नयाँ विकासको आरम्भ भएको छ । तर यो ढिला भएको छ । ढिला हुनुमा अस्थिरता कारक हो ।

हिजो प्रक्रिया मिचेर मनपरी निर्माण गर्न दियौं । शहरको, बजारको, गाउँको, टोलको, अगुवाको भरमा आफ्नो मन लागेको ठाउँमा मात्र बाटो खन्ने, पुल बनाउने आदि मोडलमा विकास गर्न खोज्नाले यो समस्या देशैभरि छ । राम्रो इन्जिनियरिङ्ग छैन । जता पनि बाटो खन्ने, त्यसै छोड्दिने गर्दा वातावरण खल्बलिएको छ ।

जहाँ रूख बिरूवा हुनु पर्ने थियो त्यहीँ डोजर चलाइयो । प्लट बनाइयो । प्रत्येक प्लटको लागि बाटो बनाइयो । जहाँ रूख बिरूवा उभिन पर्ने थियो । लगातार पानी पर्दा माटो नरम भयो । जरा छैन । रातो माटो छ अनि बर्खासँगै भूक्षय भयो । खोला थुनियो । पहिरो गयो । निकास साँघुरियो । बस्ती नै बाटो भन्ठानेर नदी पस्यो । अकस्मात भयो । यस्तो होला अनुमान थिएन । तयारी पुगेन । मानवीयसँगै भौतिक क्षति भयो । पीडा भयो । आक्रोसित बन्यौं । दोष दिन बल लगाएर चिच्याएका छौं । तर सौम्य भएर भोलिका लागि सोच्न भ्याएका छैनौं । यो हाम्रो सामूहिक समस्या हो, जसलाई नसुधारी धरै छैन ।

के हो प्राकृतिक प्रकोप भनेको ? हाम्रो देशमा कस्ता कस्ता प्रकोपले प्रत्येक वर्ष क्षति पुर्याएको छ ? हामीले गम्भीर रुपले मनन गरेका छौं ? यसका लागि दिर्घकालीन महत्वपूर्ण योजना बनाउन पर्छ । उदाहरणका लागि काठमाडौंलाई बुटिक राजधानी, अफिसियल प्रमुख राजधानी अनि चितवनलाई कमर्सियल राजधानी बनाउने खालको अवधारणा पनि तयार गर्न पर्छ । पोखरा पर्यटकीय राजधानी भइसकेको छ । अझ बढी पर्यटक आकर्षित गर्न पोखरा र भरतपुर अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्नै पर्छ ।

यसपालि बाढीपहिरोले मुलुकलाई आक्रान्त बनाएको छ । अढाइ सयभन्दा बढीले ज्यान गुमाउनु पर्यो । अझै कति बेपत्ता छन् । हजारौं घाइते छन् । भौतिक क्षति असाध्यै धेरै छ । मुख्य पर्वको मुखमा आएको विपत्तिले समग्र नेपाल दुखेको छ । जनजनको मन कुँडिएको छ ।

यो संकटको घडीलाई राजनीतिक दाउपेचको रूपमा नहेरौं । इमान्दार तरिकाले पुनःनिर्माणमा लागौं । इमान्दारपूर्वक काम गर्न सक्ने इच्छा शक्ति चाहिन्छ । सबै नेपाली एक भएर लाग्ने हो भने संकटबाट पार पाउन कठिन छैन । गतिलो परिणाम आउने किसिमले युद्धस्तरमा काममा जुटौं । जसले जहाँबाट जे गर्न सकिन्छ, गरौं ।

यसमा राजनीतिक दलका नेता र सबै क्षेत्रका अगुवाहरुले अग्रसरता लिनुपर्छ । दिर्घकालीन सोच भएको व्यक्ति प्रभावकारी हुन्छ भन्ने त हामीकहाँ उदाहरण छ । जस्तो– काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह । कमी कमजोरीबाट मुक्त छैनन् तर उनीप्रति जनआशा अचम्मसम्म मुखरित भएको पाइन्छ । दृढ इच्छाशक्ति, कानुनी आधार अनि विकासप्रतिको सोचका कारण उनीप्रति आकर्षण बढेको हो । उनीबाट राजनीतिक दलका युवा नेताले धेरै कुरा सिक्छ सक्छन् । आवश्यक पर्दा आफ्नो अनुभवबाट उनलाई प्रेरित गर्न सक्छन् । यसमा कन्जुस्याइँ गर्नुपर्ने कारण छैन ।

तर कतिपय बेला उच्च राजनीति नेतृत्वले बालेनलाई फरक किसिमले हेरेको पाइन्छ । देशको प्रधानमन्त्रीले नै उनीप्रति कटाक्ष गर्दै अनेक अशोभनीय अभिव्यक्ति दिएको पाइन्छ । यो जनप्रिय कुरा होइन बरु आफैंलाई जनताको नजरबाट फरक दृष्टि सिर्जना गराउने अनुचित कदम हो । नियम कानुन मिचेर जे पायो त्यही गर्न पक्कै दिनु हुँदैन, तर नियमसंगत रुपमा गर्न खोजेको सकारात्मक प्रयासलाई साथ  दिनैपर्छ ।

हामी भूइँमान्छेहरू, त्यसमा पनि परदेशको भूमिमा रगत पसिना बगाएर मेहनत गरिबसेकाहरु देशको सतत् उन्नति होस् भन्ने कामना गरिरहेका हुन्छौं । विकास होस्, जनताले सुख पाउन्, जनताका छोरा काम र भविष्य खोज्दै अश्रुसरि भएर विदेशिनु पर्ने अवस्थाको अन्त्य होस् भन्ने चाहन्छौं । देशमा बेमेल, हेपाहा शैली, खुट्टा तान्ने प्रवृत्ति, भ्रष्टाचार जस्ता कुरा बढ्दा हाम्रो मन कटक्क खान्छ । मातृभूमिको पीडामा हामी मूर्छिततुल्य हुन्छौं ।

कतिपय सन्दर्भमा विदेशमा रहेका नेपालीप्रति नकारात्मक धारणा पनि बनेको पाइन्छ । कोही एकदुई व्यक्तिको गलत कदमका कारण सबैप्रति त्यस्तो धारणा बनाउनु कदाचित् राम्रो र न्यायपूर्ण होइन । विदेशमा भएका नेपालीहरुलाई अनेक लान्छना लगाउने, स्वार्थीको संज्ञा दिने अनेक दृष्टान्त छन् । यति हुँदाहुँदै पनि विदेशमा रहेका हामी नेपाली देशको उन्नतिका लागि हरसमय प्रार्थना गरिरहेका हुन्छौं । हिजो पनि गर्थ्यौं, आज पनि र आजीवन गरिरहने छौं ।

यो लेखलाई सानो कवितासहित टुंग्याउने अनुमति चाहन्छु ।

थाहा छैन हौ कहाँ कतिखेर नास हुन्छ
भोकाएपछि नरोजी उतिखेरै गाँस हुन्छ
प्रकृतिसँग विकृतिले नै जोरी खोजेपछि
बेलैमा जोगिनु पर्छ नि जतिखेर सास हुन्छ ।

मलाई नसोध्नु कसै कहाँ दुख्छ घाउ
अँठ्याउँछन् स्वार्थी दुनियाँ जता जाउ
दुःखीयालाई अझै दुःखी बनाउने नीति
संकटमा बेकाम छन् आज आफ्नै पाउ।

आहा निलो खुलेको आकास पनि छ
नदी नाला बग्ने खुला निकास पनि छ
पञ्च तत्वको अस्तित्व हरण नगरीकन
जनजीवनको लागि यो विकास पनि छ।

अस्तु ।

-पोखरा, हालः टोकियो, जापा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *