ईश्वरसँग साक्षात्कार हुन सकिन्छ ?

हिंसा के हो ? अहिंसा के हो ? कस्तो संस्कारले मानिसलाई कस्तो बनाउँछ ? यी र यस्ता जीवनका अनेक प्रसंगमा पूर्वजन्मको के सम्बन्ध छ ? मानिस कसरी फरक विशेषतायुक्त बन्न सक्छ ? यी विभिन्न प्रश्नहरुको जवाफ खोज्न उति सहज छैन । तर केही आधारभूत कुराहरु छन्, जसले आफैँलाई चिन्न सहयोग गर्छन् । यहाँ संक्षिप्त रुपमा यसबारे लेख्ने प्रयास गरिएको छ ।

‘अहिंसा परमो धर्म’ समान्यतः मानिसले यसको अर्थ त बुझ्छ, यद्यपि यसलाई जीवनमा पालन गर्न निकै लामो समय भक्तिभावले नबुझी र नगरी लागू हुन कठिन छ ।

कसैप्रति नराम्रो विचार आउनु र उसमा दोष देख्नु आफ्नै दोष हो भनेर जान्न र पालन गर्न पनि निकै अबेर हुन सक्छ, सानैदेखि उसले घरमा, पाठशालामा कस्तो संस्कार पायो त्यसले उसको जीवनमा ठूलो भूमिका निर्वाह गर्छ । त्यो खराब विचार नै कर्मदोष हो भनेर अन्तःस्करणमा भिज्न उसको पूर्वजन्मदेखिको संस्कारमा भरपर्दाे रहेछ ।

कसैको भोक देख्न र देखिसकेपछि तत्काल उसको पेट भर्नु पनि परोपकारको बाल्टी उसले पूर्व जन्ममा कति भरेको छ र अब भर्न कति बाँकी छ भन्नेमा नै भरपर्ने रहेछ ।

सत्कार, आदर अनि सतगुरू, शिक्षक, माता पिताहरूको आज्ञापालन कर्तव्यबोध गर्न पनि पूर्वजन्मदेखिको संस्कारमा भर पर्ने कुरा, जो पढेर मात्र पुग्दैन, अनुसरण गर्न सानैदेखि सिक्ने त्यही संस्कार, संगत, शिक्षा पाउने पनि उसले पूर्व गरेका पुण्य कर्ममा नै भरपर्ने रहेछ ।

उसको पूर्वकर्म मुताबिक उसले यो जन्ममा त्यस्तै योनीमा जन्म लिने रहेछ भनेर अनुभूत गर्न पनि धेरै लामो त्याग, तपस्या, भक्ति, योग, प्राणायमबिना बुझ्न मानिसले सक्दैन भनेर अनुभूत गर्न लामै समय तपस्या गर्नुपर्ने रहेछ ।

गीता कण्ठस्थ, वेद कण्ठस्थ अरु महाविद्या कण्ठस्थ गरेर पनि बाहिर देखाउने र भित्र गर्ने भिन्न हुनु पनि उसले पूर्व, अति पूर्व जन्ममा गरेका कर्महरूकै आधारमा निरुपण हुन्छ भनेर अनुभूत गर्न पनि धेरै लामो तपस्या गर्नुपर्छ । यहाँनिर तपस्या भन्नाले घर त्याग गर्नु, भीड त्याग गर्नु अनि छोराछोरी र अरु व्यवहार त्याग गर्नु नभई भीडमा, परिवारमा, समाजमा आफूभित्रै रहनु हो ।

राग भौतिक बस्तुसँग निकट बनिरहनु र प्राप्तिको चाहना भैरहनु हो भने बैराग यी सबैबाट भाग्नु, भाग्ने प्रयास गरिरहनु हो । यी दुवैको मिलन बिन्दु भनेको वितराग हो जो जञ्जालमा रमाएर पनि हरक्षण आफैँसित रहनु एवं आफैँसित रहेर नएक्लिँदै कर्तव्यबोध भइ नै रहनु र नित्य कर्ममा निश्वार्थ प्रेमको बोध हुनु नै वितराग हो ।

शास्त्रले गृहस्थ धर्म यसैकारण उत्तम मानेको रहेछ । गृहस्थले केही उब्जाउँछ र सबैलाई ख्वाउँछ, पाल्छ । पशुपक्षी हरेक जीव पालिरहेको हुन्छ । अहिलेको भौतिक युगमा सबैभन्दा राम्रो जीवन किसानकै हो किनकि उसले अन्न लगायत यावत खाद्य पदार्थ उत्पादन गर्छ र ठूलाठूला धनाढ्यदेखि पशुपक्षी सबैलाई पाल्छ । तसर्थ किसानको जीवन पुण्यले भरिएको हुन्छ अलिकति कर्तव्यबोधको भावना भएको किसान उच्चकोटीको हो र उसको या त मुक्ति नत्र उच्च कोटीको योनीमा जन्म लिन्छ र जीवन सुवासित बनाउँछ भनी बुझ्न पनि धेरै समय भाव राज्यमा हेलिनुपर्छ ।

यी माथिका गन्थन पढ्ने कसलाई फुर्सद छ र भन्ने जान्दाजान्दै पनि मैले लेखेँ यो पनि एक कर्तव्य ठाने मैले । विद्वान बन्ने रहरले होइन ताकि यसले सके कसैमा थोरबहुत मद्दत पुगोस भक्त बन्न । भक्त भनेको मैले नाम जप मात्र भनेको होइन अथवा देखिएका धर्म विशेष होइन आफूमा भक्त जसले कर्तव्यबोध र आत्मविश्वास बढाउन सहयोग पुर्याउन सकोस् ।

कुनै मूर्ति, तस्बिर, हठ योग यी सबै कर्तव्यबोध र भक्तिकै सांकेतिक स्वरुपहरू हुन् । आफूमा विश्वास जगाउन नसक्दा साधन कुनै सांकेतिक बस्तु सहायक बन्छ । यद्यपि कर्मलाई नै पूर्ण विश्वास ठानेमा र अनुसरण गरेमा ती मार्गहरू सहायक वा सहयोगी रहेछन् भनेर बुझ्न सकिन्छ ।

मनको विश्वास बाह्य हो । अन्तरमन वा सुक्ष्म मनबाट बुझ्नु नै ईश्वरको नजिकै रहनु हो र यस्तो अनुसरण गर्दै जाँदा कुनै न कुनै बखत ईश्वर साक्षात्कार हुनेछन् । यसमा तर्क गर्नुले फेरि कर्तव्यपथबाट टाढा पुर्याउँछ । ईश्वर एक विन्दु वा तत्व हुन् । यद्यपि उनको जगत विशाल छ भनेर बुझ्न परमाणु शक्तिशाली छ भनेर बुझे हुन्छ । जस्तो बिनाशकै निमित्त बनेता पनि परमाणु बम अलि शक्तिशाली छ जो प्रमाणित भइसकेको छ ।

-पंक्तिकार निरौला कवि, लेखक, ज्योतिष क्षेत्रका जानकार एवं आध्यात्मिक चिन्तक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *