विष खुवाएर दुई छोरीको हत्या गर्ने आमा जेल चलान

विराटनगर । विष खुवाएर नाबालिका दुई छोरीको हत्या गर्ने २१ वर्षीया अस्मिता पौडेल कार्कीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश पारसमणि पोखरेलको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको जनाए । आदेशपछि अस्मितालाई मंगलबार कारागार चलान गरिएको छ । घटानापछि उनी फरार भएकी थिइन् । प्रहरीले भदौ १९ गते झापाको बिर्तामोड नगरपालिका–५बाट उनलाई पक्राउ गरेको हो ।

निर्माणाधीन घरमा पानी नलगाएको विषयलाई लिएर श्रीमान् ३१ वर्षीय अर्जुन कार्कीँँग विवाद भएपछि छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणालाई सँगै लिएर अस्मिता भदौ १४ गते साँझ घरबाट हिँडेकी थिइन् । दुवै नाबालिका भोलिपल्ट मोरङको सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा मृत फेला परेका थिए । घटनास्थलमा कीटनाशक औषधिको बट्टा भेटिएको थियो ।

अस्मिताले विष खुवाएर नाबालिका छोरीहरुको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिले दिएको यातना सहन नसकेपछि नानीहरुलाई लिएर हिँडेको केहीबेरमा आफूले विष खाएको र उनीहरुलाई पनि खुवाएको अस्मिताले बताएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका अर्जुन र संखुवासभाको मुढेशनिश्चरे माइती भएकी अस्मिताले २०७५ फागुन ९ गते भागेर बिहे गरेका थिए । पत्नी र २ नाबालिका छोरीसहित अर्जुन गत वैशाखदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा बस्दै आएका थिए । नजिकै नयाँ घर पनि बनाउँदै थिए । नयाँ घरमा पानी लगाउने विषयमा उनीहरुबीच विवाद भएको पाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *