दसैँका लुगा र प्रधानमन्त्रीले अमेरिकामा नदोएको भैँसी

‘सधैँ सबै मैले नै सम्झाउनु पर्छ ?’ रूपाले भनिन् ।

‘मैले के बिर्सिएँ र तिमीले सम्झाउनु पर्यो ?’ उसले भन्यो ।

‘दसैँको लुगा लिन अघिल्लो हप्ता जाँदा नसकिएकाले आज पक्का हुन्छ भनेर साहुले भनेपछि फर्क्या होइन त्यस दिन ? अनि आज जानु परेन ? आफूले सम्झिने होइन, अनि मैले सम्झाउनु परेन त ?’ रूपाले भनिन् ।

‘तरकारी पनि केही ल्याउनुपर्छ कि ?’ उसले सोध्यो ।

रुपाले भनिन्, ‘पर्दैन । केही पर्दैन । किनिसक्नु भए पो ल्याउनु ! अब बाटो खुलेपछि मात्र तरकारी किनेर खाने हो ।’

हिजो साँझको कुरा हो यो । ऊ केही जवाफ नदिई छाता टेक्दै बाटो लाग्यो ।

घरबाट निस्केर मूल सडकमा पुगेको मात्र थियो, होचा, मोटा र पातला अग्ला बूढा उसकै अगाडि जाँदै रहेछन् । उनीहरूका कुरा सुन्दै ऊ पछि लाग्यो ।

पातला अग्ला बूढाले भने, ‘मैले त बिर्सिएँ ।’

बूढाहरू कुनै विषयमा कुरा गर्दै आउँदै रहेछन् भन्ने उसले जाने पनि के कुरा हो भनेर उसले बुझ्ने कुरा भएन ।

तै पातला अग्ला बूढाले सम्झिन्छन् कि भनेर एकछिन पर्खे झैँ गरेर होचा मोटा बूढाले भने, ‘कस्तो बिर्सिनु हौ ? गत वर्ष प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर आएपछि भन्नु भएको कुरा होइन ?’

पहिलोले भने, ‘के भन्नुभएको थियो प्रधानमन्त्रीले ? मैले त प्रधानमन्त्री अमेरिका गएको नै बिर्सिसकेको थिएँ । फर्केर आएपछि उहाँले के भन्नुभयो भन्ने कुरा त झन् सम्झिने कुरै भएन नि !’

दोस्रोले भने, ‘हैट, तपाईं पनि । उहाँले यसपटक नेपाल राष्ट्रसङ्घमा देखिने गरी प्रस्तुत भयो भन्नुभएको होइन त ?’

‘ए.. ए, त्यसअघि चाहिँ नेपाल राष्ट्रसङ्घमा देखिएको रहेनछ त ? महासभामा भाग लिन भनेर त बर्सेनि उच्चस्तरीय प्रतिनिधिमण्डल जाने गरेकै थिए होइन र ?’ पहिलोले भने ।

दोस्रोले भने, ‘खोइ, उसबेला पनि महासभामा कार्यक्रमको फोटो र भिडियो खिच्ने फोटोग्राफरको व्यवस्था भएको हुनुपर्ने हो । सिसी क्यामेरा त हल लगायत सबैतिर जडान भएकै हुनुपर्ने हो । के भएर यसअघि महासभामा प्रतिनिधित्व गर्ने नेपालका प्रधानमन्त्री लगायतका प्रतिनिधिमण्डल देखिएनछन् । बुझ्न सकिएन ।’

पहिलोले भने, ‘कि उनीहरु महासभामा भाग लिन जाने भनेर अन्यत्रै कतै घुम्न पो जान्थे कि ! त्यसो त नगर्नुपर्ने हो । कि कसो ?’

दोस्रोले भने, ‘हो । तर पोहोर पनि प्रधानमन्त्रीले आफू देखिएको कुरा त गर्नुभएको थिएन है ! नेपाल देखिएको कुरा गर्नुभएको थियो । टिभीमा हामीले देखेको त उहाँलाई नै हो । नेपाल त देखिएन । न्युयोर्कबाटै हेर्दा चाहिँ नेपाल देखिन्थ्यो कि !’

पहिलोले भने, ‘संयुक्त राष्ट्रसङ्घमा नेपाल देखिएको थियो भने त खुसीको कुरा हो। त्यसरी नेपाललाई न्युयोर्कमा देखाउने त्यस बेलाका प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ ।’

‘अनि यसपटक चाहिँ प्रधानमन्त्रीले महासभामा भाग लिएर आएपछि केही भन्नुभएन त ?’ पुनः पहिलोले नै सोधे ।

दोस्रोले भने, ‘भन्नुभयो नि । किन नभन्नु ।’

‘के भन्नुभयो त ?’ पहिलोले सोधे ।

दोस्रोले भने, ‘सुन्नुभएन र तपाईंले ?’

पहिलोले भने, ‘सुनें । त्यही प्राकृतिक विपत्तिका बारेमा गर्नुभएको कुरा सुनें । तर महासभामा भाग लिएको सम्बन्धमा चाहिँ के भन्नुभयो भन्ने त्यति याद गरिनछु ।’

‘उहाँले नेपालीहरुको सोचको क्या बुलन्द जवाफ दिनुभयो’ दोस्रोले भने ।

पहिलोले भने, ‘नेपालीहरुको कस्तो सोचको जवाफ भन्नुभएको हो ? मैले कुरै बुझिनँ ।’

दोस्रोले भने, ‘अमेरिकाबाट प्रधानमन्त्रीले के के न ल्याउँछ भन्ने नेपालीहरुको सोचको जवाफ भनेको क्या !’

पहिलोले सोधे, ‘के भन्नुभयो त प्रधानमन्त्रीले ?’

दोस्रोले भने, ‘म भैँसी दुहुन अमेरिका गएको होइन भन्नुभयो ।’

पहिलोले भने, ‘ए, गजब भन्नुभएछ । नेपालीले अमेरिका जानुभएको प्रधानमन्त्रीसँग दुधको आश त गर्नु भएन नि ! न्युजिल्यान्ड अथवा डेनमार्क जानुभएको भए दुधको आश गर्दा हुने थियो । त्यो पनि गाईको । अमेरिका जानुभएका प्रधानमन्त्रीसँग भैँसीको दुधको किन आश गरेका हुन् नेपालीले । मैले बुझ्न सकिनँ ।’

दोस्रोले भने, ‘मैले पनि बुझ्या छैन भन्या । बरु उहाँ भारत जानुभएको भए भैँसीको दुधको आश गर्दा हुने थियो । त्यो पनि मुर्रा भैँसीको !’

‘बा साग लाने होइन ?’ महिलाको आवाजले बूढाहरुको आवाजलाई जितेछ ।

यही आवाजले उसलाई मैतीदेवी पुगिसकेको थाहा भयो । बूढाहरुको गफ सुन्ने चक्करले यति टाढा आइपुगेको पनि याद गरेनछ उसले । उसलाई साग लानु थिएन । लुगा लिने पसलभन्दा ऊ धेरै अगाडि आइसकेको हुनाले उसले फर्कनै पर्थ्यो । बूढाहरू त गफ गर्दै अगाडि बढिहाले । उनीहरुको रमाइलो गफ पुरै सुन्न नपाएकाले थक्थकाउँदै फर्क्यो ऊ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *