नेपालले ओमानलाई ५६ रनले हरायो
काठमाडौँ । क्यानाडामा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले ओमानलाई ५६ रनले हराएको छ । १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए ।
नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए । त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा २ चौका र ४ छक्कासहित ५६ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी १, गुल्सन झा २ र कुशल भुर्तेल ११ रनमा आउट भए । ओमानका फयाज बटले, ३ कलिमुल्लाह, सकिल अहमद र अकिब इलियासले १(१ विकेट लिए ।
नेपाल पहिलो खेलमा नेपाल क्यानाडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल क्यानाडासँग ४ विकेटले हारेको थियो ।
नेपाल ४ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । क्यानाडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानाडा ओमानसँग ८ विकेटले पराजित भएको थियो । ओमान १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । बिहीबार ओमान र क्यानाडाबीच प्रतिस्पर्धा हुनेछ ।
